काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा उभिएका पूर्व माओवादीका सहयोद्धाहरूलाई ढेडु बाँदरको उपाधि दिएका छन् ।
ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको बताउँदै नेता पुनले यस्तो बेला सरकारमा जाने पूर्व माओवादीलाई ढेडु बाँदरको संज्ञा दिए ।
बुटवलमा बिहीबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’को संज्ञा दिएकोमा पुनले आपत्ति प्रकट गरे ।
पूर्व माओवादीकै कारण ओली २ पटकसम्म प्रधानमन्त्री भएको हेक्का राख्न पुनले सुझाव दिएका छन् ।
‘जसका कारण तपाईं २ पटक देशको प्रधानमन्त्री बन्नुभयो । जसको योेगदानले २ पटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्सी ? उही बाँदर ?’ उनले प्रश्न गरे ।
नेता पुनले माओवादी युद्धमा लागेकाहरू बाँदर भए रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेको टिप्पणी गरेका छन् ।
‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्,’ उनले भने, ‘दुई वटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ?’
उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा जननिर्वाचित प्रतिनिधि सभाको हत्या भएको भन्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ३०० बढीको समर्थन रहेको प्रचण्ड–नेपाल नेतृत्वको पार्टी नै मूलधारको नेकपा रहेको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।