काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले धमाधम सल्लाहकार नियुक्त गर्न लागेका छन् । अहिलेसम्म उनले आठजनाभन्दा बढीलाई सचिवालयमा नियुक्त गरिसकेका छन् ।
सुरुमा नियुक्त भएका निजी सचिवालयका चिरञ्जीवी अधिकारी, खिला कार्कीलगायत एक दुईजनाबाहेक सबै पुराना, पहिल्यै राज्यका विभिन्न निकायमा नियुक्ति खाइसकेका छन् ।
अधिकारी निजी स्वकीय सचिव र कार्कीले मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा नियुक्ति पाएका छन् । राष्ट्रपति पौडेलले बुधबार मात्र आर्थिक र कानुनी सल्लाहकार नियुक्त गरेका थिए ।
जसमा पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल र बाबुराम कुँवर छन् । नेपाललाई आर्थिक सल्लाहकार र कुँवरलाई कानुन सल्लाहकार नियुक्त गरेका छन् । कुँवर गण्डकी प्रदेश प्रमुख भइसकेका व्यक्ति हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर भइसकेका छन् । राष्ट्रपति पौडेलले सुनीलबहादुर थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।
थापाको नियुक्ति बुधबार भए पनि सार्वजनिक गरिएको छैन । पूर्वमन्त्रीसमेत रहेका थापा २०७७ सालमा कांग्रेस प्रवेश गरेका थिए। राष्ट्रपति पौडेलले अहिले धमाधम सल्लाहकार नियुक्त गर्न थालेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।
नेपाल साप्ताहिकका पूर्वसम्पादक प्रशान्त अर्याल लेख्छन्, ‘नयाँ राष्ट्रपतिले नयाँ परम्परा बसाउन चाहेको हो भने सल्लाहकार नियुक्त नगरेकै राम्रो। राज्यका पदाधिकारी–उच्चाधिकारी उनैका सल्लाहकार हुन् ।
फेरि,चाहेको बेला जोसँग पनि सल्लाह लिने सुविधा राष्ट्रपति लाई छँदैछ। सल्लाहकारहरूको नियुक्तिले राष्ट्रपतिको विश्वास राज्य संयन्त्रमा नभएको देखाउँछ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।