काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी साढे सात वर्षे कार्यकाल पूरा गरेर सोमबार घर फर्कंदैछिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी निवर्तमान राष्ट्रपति हुनेछिन् । उनी आजै बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निजी निवासमा सर्ने भएकी छन् ।
भण्डारीको बुढानिलकण्ठ चपलीस्थित घर मर्मत गर्न अझै दुई महिना लाग्ने भएकाले उनी छोरीको घरमा सर्न लागेकी हुन् । सरकारले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिका लागि घरसहितको निवास सुविधा दिने भने पनि भण्डारीले नलिने घोषणा गरेकी छिन् । घर नलिने पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई सरकारले मासिक दुई लाख भाडा उपलब्ध गराउँछ । सेवा–सुविधाबारे भने भण्डारीले औपचारिक रूपमा प्रतिक्रिया दिएकी छैनन् ।
भण्डारीको आइतबार नै कार्यकाल पूरा भएपछि उनले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग बिदाइ भेट गरेकी थिइन् । भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुत्तिः पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनमत पार्टी अध्यक्ष सिके राउत भने अनुपस्थित थिए ।
आफ्नो भाइ सरोजगोपाल उपाध्यायको निधनमा शोकमा रहेकाले माधव नेपाल शीतल निवास नगएका हुन् । बिदाइ भेटमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा सहयोग गरेकोमा सबै शीर्ष नेतालाई धन्यवाद दिएकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।