काठमाडौं - डेढ महिनाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत भन्दै गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयलले गोप्य रूपमा प्रधानमन्त्री केपी ओलीसँग मध्यरातमा बालुवाटारमा पौने तीन घन्टा भेटवार्ता गरेका थिए ।
सो भेटवार्तापछि सत्तारुढ नेकपामा विवाद सुरु भएको हो । भारतीय गुप्तचर प्रमुखको भ्रमणलगत्तै देशभर राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको आन्दोलन एक्कासि उठ्नुलाई संयोग मात्रै मानिएको छैन, यसमा बालुवाटारको पनि साथ र समर्थन रहेको विश्लेषण सुरु हुन थालेको छ ।
जसको भेउ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको मुखबाट सुनेपछि मात्रै चाल पाएका थिए । सचिवालय बैठकअघि सहमति गराउन भन्दै राष्ट्रपति भण्डारीले प्रचण्डलाई शीतल निवास बोलाएकी थिइन् ।
त्यसैक्रममा प्रचण्डसँग भण्डारीले यो संकेत गरेकी छिन् । प्रचण्डले आफ्ना निकटस्थहरूलाई बताएअनुसार राष्ट्रपति भण्डारीको भनाइ थियो– ‘ओलीजीलाई थप निजिक्याउनु होला, जे पनि हुनसक्छ ।’
यसको अर्थ अहिले सडकमा निस्केको राजावादीको आन्दोलनको पृष्ठभूमि पछाडि प्रधानमन्त्री ओलीको हात रहेको आशंका गरिएको हो । मुलुकका केही सहरमा राजावादीहरूले खुलेआम निकालेको जुलुसमा भीड बढ्दै गएको छ ।
यो भीड देखेर मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह उत्साहित भएका होइनन् । प्रधानमन्त्री ओलीबाट उनले केही न केही हरियो संकेत पाइसकेको अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् ।
नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले ओलीकै भित्री साँठगाँठमा राजावादीहरूको गतिविधि बढेको बताएका छन् । ओलीले चुनाव जिताएर ल्याएका राप्रपाका एक मात्रै सांसद राजेन्द्र लिङ्देनले यो गतिविधिको प्रत्यक्ष नेतृत्व गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग अहिले पनि लिङ्देनको आवतजावत बाक्लो छ । शनिबार लिङ्देनले झापाबाट चेतावनी दिए, राजावादीको यो आन्दोलन कास्टिङ मात्र हो, पूरै फिल्म बाँकी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।