काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चर्किएको विवाद समाधानका निम्ति प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट सक्रियता बढेको छ ।
प्रधानमन्त्री ओलीको दूत बनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
पोखरेलले शुक्रबार बिहान अध्यक्ष ‘प्रचण्ड’लाई खुमलटारमा भेटेका थिए । शीतलनिवासमा पोखरेल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको जनाइएको छ ।
नेकपा विवाद समाधानका निम्ति पछिल्लो समय राष्ट्रपति भण्डारीले पनि निकै कसरत गरिरहेकी छन् । बिहीबार भण्डारीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेकी थिइन् ।
उपप्रधानमन्त्री पोखरेल समेत नेकपा विवादमा सक्रिय भएका छन् । भोलि शनिवारका लागि बोलाइएको नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहमति गर्न धेरै प्रयास गरेका छन् ।
तर प्रचण्डले बैठकमै छलफल हुनुपर्ने अडान लिएका छन् । बिहीबार राति उपप्रधानमन्त्री पोखरेलले ट्विट गर्दै नेकपा संकटमा बिहानीको संकेत गरेका थिए । उनले ट्विट गर्नुअघि बालुवाटारमा लामो समय रातिसम्मै मन्त्रिपरिषद् बैठक बसेको थियो ।
पोखरेलले ट्विटरमा लेखे, ‘नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – संकटको मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’ बिहीवार नेकपा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए । कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने इच्छा व्यक्त गरेका थिए ।
नेकपाको सचिवालय बैठक भोलि शनिवार दिउँसो १ बजे तय गरिएको छ । त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने प्रयास गरिरहेको छ ।
प्रचण्डले ओलीको राजीनामा आउनुपर्ने मुख्य अडान लिँदै आएका छन् । यसअघि भएको सहमति कार्यान्वयन नभएपछि प्रचण्ड पक्ष असन्तुष्ट छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।