काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल कहिल्यै पनि पार्टीको पहिलो र कार्यकारी भूमिकामा आएनन् । पार्टीमा उनी उपसभापति र महामन्त्रीसम्म बने । पार्टी सभापति बन्न सकेनन् ।
नेपाली कांग्रेस विभाजन हुँदा उनलाई कांग्रेस प्रजातान्त्रिकको सभापति अफर गरिएको थियो । तर उनी अन्तिम समयमा कांग्रेसमै फर्केका थिए । पौडेल सभापति नबसेपछि शेरबहादुर देउवा नै कांग्रेस प्रजातान्त्रिकको सभापति बने । तर, पार्टी एक हुने बेला देउवालाई वरिष्ठ नेताको वरीयता दिइयो । पौडेल भने उपसभापतिसम्म बने ।
जब कांग्रेसमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको युग सकियो, तब देउवा नै हाबी भए । पौडेलले सभापतिमा जित्न सकेनन् । १३औं महाधिवेशनमा देउवासँग हारेका पौडेल १४औं महाधिवेशनमा देउवाकै सहयोगी बने ।
पौडेलकै कारण देउवाले डा.शेखर कोइरालालाई हराए । यदि पौडेल शेखर समूहमै भएको भए देउवालाई सभापति जित्न निकै कठिन हुने थियो । चौतर्फी आलोचनाको बाबजुद पनि पौडेलले देउवालाई सहयोग गरिरहे ।
कांग्रेसको सभापति र संसदीय दलको नेतामा पनि आपसमा भिडेका पौडेललाई उनै देउवाले राष्ट्रपति बनाएर आफ्नो राजनीतिक कद बढाएको अहिले कांग्रेसमा चर्चा हुन थालेको छ । धैर्य गरेर बसे देउवाले गुण लगाएरै छाड्छन् भन्ने सन्देश गएको छ ।
देउवाले पनि कहिल्यै पहिलो र कार्यकारी भूमिका ननिभाएका पौडेललाई जीवनको उत्तराद्र्धमा जस्तो पदमा पुर्याइदिएका छन्, यसले उनी सर्वस्वीकार्य नेताको ठाउँमा पुगेका छन् । अहिले कांग्रेसमा देउवाको विरोध र आलोचना हुन छाडेको छ । अब चाँडै केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा देउवा जुटेका छन् ।
पौडेल सभामुख बने । चारचोटि मन्त्री बने । तर प्रधानमन्त्री बन्न सकेनन् । अहिले त्यही प्रधानमन्त्री पद पौडेलको सल्लाहकार बन्ने अवस्था आएको छ ।
यदि गत वर्ष कांग्रेसको १४औं महाधिवेशन बहिष्कार गर्दै राजनीतिक सन्न्यास लिएको भए पौडेल अहिले राष्ट्रपति बन्न सक्दैनथे । देउवाले घरमै गएर पौडेललाई विश्राम नलिन गरेको आग्रह नै अहिले पौडेल राष्ट्रपति बन्न सफल भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।