काठमाडौं - आमनिर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सात दिनभित्र बहुमतको प्रधानमन्त्री दाबी गर्न समयसीमा दिइन् ।
जसअनुसार तत्कालीन पाँचदलीय गठबन्धन सरकार गठनका लागि द्विपक्षीय, बहुपक्षीय वार्तामा जुटिरहे । तर कुनै उपलब्धि निस्कँदैनथ्यो । एवंरितले पुस १० गते आयो ।
बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा वार्तामा जुटे । तर, ठोस निष्कर्ष निस्केन । यसबीचमा माओवादीले एमालेसँग पनि भित्रभित्रै छलफल चलाइरहेको थियो ।
कांग्रेस र एमालेबीच पनि सरकार गठनका लागि संवाद चलेको थियो । कतिसम्म भने पुस १० गते दिउँसो ३ बजेभित्र आफूहरू बालुवाटार आउने र सरकार गठनको सहमति गर्ने भनेर केपी ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेका थिए ।
पहिले देउवा कि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने विषयमा सहमति नजुटेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिए । उनी सिधै खुमलटार पुगे । उनले पहिले नै ओली निवासमा माओवादीका नेता वर्षमान पुन र नारायणकाजी श्रेष्ठलाई पठाएर आफू पनि पुगे ।
यता कांग्रेसका नेताहरू ओलीसहितका एमाले नेताहरू बालुवाटार आउनेछन् भनेर कुरिरहे । तर पाँचदलीय गठबन्धन टुटाउने कसम खाएका ओलीले पहिलेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीका अध्यक्षहरूलाई आफ्नो पकडमा राखिसकेका थिए ।
उनले तत्काल सबैलाई बालकोट बोलाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खुमलटारबाट सिधै बालकोट पुगे । कांग्रेससँगको गठबन्धन तोडेर बालकोट पुगेका प्रचण्डको अवस्था रुझेको बिरालो झै देखिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलासा गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, रास्वपा अध्यक्ष रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, एमाले नेताहरूका अगाडि प्रचण्ड निकै टिठलाग्दो अवस्थामा देखिएको राउतको भनाइ छ । ‘एउटा क्रान्ति गरेर आएको व्यक्ति ।
परिवर्तनको पक्षधर नेता । पूर्वप्रधानमन्त्री भइसकेका पार्टीका अध्यक्ष पनि । उहाँ त्यसबेला बन्धक बनाइएको जस्तो अवस्थामा हुनुहुन्थ्यो । यस्तो दृश्यले मलाई निकै पिरल्यो । त्यसैले मैले बाहिर निस्केर सोही दिन राति ट्विटमा राजनीतिबाटै सन्न्यास लिउँ कि भनेर लेखेको हुँ,’ एक मिडियालाई अन्तर्वार्ता दिँदै राउतले भनेका छन् ।
पहिलो चरणमा प्रधानमन्त्री बन्नकै लागि ओलीको दौराको फेर समाउन पुगेका प्रचण्ड त्यसबेला निकै निरीह रहेको राउतको भनाइ छ । कतिसम्म भने ओलीले जे जे प्रस्ताव गर्यो, प्रचण्ड हवस् भन्नुबाहेक कुनै विकल्प नरहेको उनको भनाइ छ ।
यस्तो दृश्य देखेकाले पनि जस्तोसुकै अपमान सहेर पनि जनताका लागि आफ्नो पार्टी सरकारमा रहेको राउत बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।