काठमाडौं - पछिल्लो ६ महिनायता तराई मधेसमा जसपा र लोसपाको गतिविधि प्रायः शून्य छ । हिजोसम्म आफूलाई तराईको मसिहा ठान्ने महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको अहिले अवस्था निकै दयनीय बनेको छ ।
सधैं तराई मधेसका सोझासाझा जनतालाई भ्रम छलेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्दै आएका मधेस केन्द्रित दलहरू अहिले निकै सकसमा छन् । हिजोसम्म एकै दलमा रहेका उनीहरू अहिले फरक फरक दलमा छन् ।
फरक दलमा भए पनि अहिले जसपा र लोसपामा भाँडभैलो देखिएको छ । लोसपामा तराई मधेसका सर्वसाधारणको भरोसा टुट्दै गएको छ । हिजो केपी ओलीको असंवैधानिक कदमलाई साथ दिएकै लोसपामा जनताको भरोसा टुटेको हो ।
क्रियाशील सदस्यताको विवाद र केन्द्रीय कमिटीमा आफूहरूलाई बाइपास गरिएको भन्दै आमरन अनसनसमेत हुन थालेको छ । महन्थ र राजेन्द्र अहिले निष्क्रिय देखिएका छन् । कहीँकतै पार्टीका गतिविधि छैनन् ।
जसपामा पनि त्यस्तै छ हालत । उपेन्द्र यादवलाई बलियो भएको बाबुराम भट्टराई पक्षले देख्न चाहेको छैन । भित्रभित्रै खिचातानी सुरु भइसकेको छ । नवराज सुवेदीमार्फत बाबुराम पक्षले बाहिर धारणा सार्वजनिक गर्न थालेको छ ।
उनीहरूसँगसँगै राजनीतिक गतिविधिमा देखिन छाडेका छन् । उपेन्द्रलाई कुन दिन बाबुरामले जसपा छाड्ने हुन् भन्ने आशंका छ । धेरैले बाबुराम फेरि पनि माओवादी केन्द्रमा फर्कन सक्ने आकलन गरिरहेका छन् ।
यिनीहरूको यस्तै गतिविधिका कारण अहिले पूर्वीतराईमा सिके राउत र पश्चिम तराईमा रेशम चौधरीलाई जबर्जस्त खडा पार्ने प्रयत्नमा शक्तिकेन्द्रहरू लागिपरेका छन् ।
सीके राउतका कार्यकर्ताले तराईका जिल्लामा विध्वंश मच्चाउन थालिसकेको छ । अर्कोतिर जेलमा रहेका रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गराइसकेका छन् ।
सो पार्टीमा थारु समुदायको बाहुल्यता रहेको देख्न सकिन्छ । नेपालमा तराई मधेसका जिल्लामा थारु समुदायको बाहुल्यता छ । त्यसैले अन्य दलका थारु समुदायलाई एउटै दलमा आबद्ध गराउन चौधरीलाई कुनै शक्तिले अघि सारेको विश्लेषण गर्न थालिएको छ ।
मुख्य दलको प्रभाव कमजोर गर्ने यो षड्यन्त्र कत्तिको सफल हुन्छ ? आगामी निर्वाचनमा परीक्षण हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।