काठमाडौं– चितवन २ मा उपनिर्वाचन नगरी आफूलाई सांसद बनाउन माग गर्दै नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । श्रेष्ठले निर्वाचनमा दोस्रो मत पाएकाले उपनिर्वाचनको साटो आफूलाई सांसद बनाउन आइतबार बिहान साढे ११ बजे आयोगमा निवेदन दिन लागेका हुन् ।
नागरिकता विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेको सांसद पद खारेज गरेपछि चितवन २ जनप्रतिनिधिविहीन बनेको छ । संसद्ले चितवन २ मा सांसद पद रिक्त भएको आयोगलाई जानकारी गराइसकेको छ । आयोगले चितवन २ मा उपनिर्वाचनको तयारी थालेको छ ।
तर कांग्रेस उम्मेदवार श्रेष्ठले उपनिर्वाचन गराउँदा राज्यलाई करोडौंको व्ययभार पर्ने भन्दै आफूलाई सांसद बनाउन माग गरेका हुन् । आयोगमा निवेदन दिइसकेपछि श्रेष्ठले आइतबार दिउँसो २ बजे हिमालय होटेल पुल्चोकमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
चितवन २ मा लामिछाने ४९ हजार मत ल्याएर विजयी भएका थिए । कांग्रेसका श्रेष्ठले साढे १४ हजार मत पाएका थिए । रवि उपनिर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारीमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।