काठमाडौं- निर्वाचन आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
निर्वाचनको मिति घोषणा गरेर चुनावी कार्यतालिका सार्वजनिक गर्न लागेको आयोग स्रोतले जानकारी दिएको छ । आयोगले फागुन २५ वा २६ गतेलाई मिति तोक्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनको मिति तत्काल तोक्न आयोगलाई आग्रह गरिरहेको छ । आइतबार मात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन तत्काल तोक्न माग गरेका थिए ।
सत्तारुढ एमालेले राष्ट्रपतिको निर्वाचनको मिति पछि सार्ने रणनीति बनाएपछि कांग्रेसले दबाब दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बोलाएर राष्ट्रपतिको निर्वाचनबारे जानकारी लिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ । त्यसैले फागुन २८ गतेअघि नै राष्ट्रपतिको निर्वाचन गराउने तयारी भएको हो ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा अहिले सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।
कांग्रेसले माओवादी केन्द्रले राष्ट्रपतिमा आफूलाई सहयोग गर्ने अपेक्षा गरेको छ । तर एमालेले माओवादीलाई कांग्रेसलाई सहयोग नगर्न दबाब दिइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।