काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अहिले नेपाली कांग्रेस प्रतिपक्षी दलसमेत बन्न नसकेको भनेर प्रचार गरिएको छ । जबकि कानुनतः कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुनेछ ।
प्रधानमन्त्री नियुक्त गर्दा हस्ताक्षर नगरेको र सरकारमा सहभागी नभएकाले कांग्रेस प्रतिपक्षी दल नै रहेकोमा कुनै दुई मत छैन । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिनेजति सबै सत्ता पक्ष हुन् भन्ने गरी स्याल हुईंया चलाइएको छ । यस हल्लाको पछाडि केही वरिष्ठ कानुनविद्हरू पनि समावेश भएका छन् ।
यदि वर्तमान सरकार नबनेर ठूलो दलको हिसाबले नेपाली कांग्रेसको सरकार बनेको भए अरु दलले विश्वासको मत दिनै पर्थ्यो नत्र सरकार ढल्थ्यो र पुनः उही समस्या सिर्जना हुने थियो । यसैले सुरुमा विश्वासको मत दिँदैमा कुनै दल सत्ता पक्ष हुन्न । सुरुमा सरकार बनाउन राष्ट्रपतिसमक्ष दावी प्रस्तुत गर्दा नै हस्ताक्षर गरेको दल समर्थन फिर्ता नलिन्जेल सत्तापक्ष हुन्छ, पछि विश्वासको मत मात्रै दिने दल सत्ता पक्ष हुन्न । संसारभरि नै यही हो ।
२०५१ सालमा पनि कांग्रेसले एमालेको अल्पमतको सरकारलाई विश्वासको मत दिएको थियो । तर आन्तरिक कारणले नै मनमोहन अधिकारी नेतृत्वको सरकार नौ महिनामै ढल्न पुगेको थियो । कांग्रेसले संसद् सचिवालयलाई प्रमुख प्रतिपक्षी दलको सेवासुविधा के के हुन्छ भनेर लेखेको पत्रलाई समेत धेरैले प्रतिपक्षी दलको मान्यता दिन हारगुहार गरेको भनेर प्रचारबाजी गरेका छन् ।
जबकि कांग्रेसले के के हुन्छ भनेर सोध्नसमेत नमिल्ने गरी चर्चा गरिएको छ । खासगरी एमाले समर्थित मिडिया र पत्रकारले यस्तो हल्ला चलाएका छन् । त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवा मन नपर्ने र कांग्रेसका युवा नेतालाई खुइल्याउन पनि यस्तो स्याल हुइयाँ चलाइएको धेरैले अनुमान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।