काठमाडौं - आफ्नो कार्यकालको अन्तिम अन्तिमतिर राष्ट्रपति विद्यादेवी भण्डारी देश दौडाहामा लागेकी छन् ।
यतिबेला उनी धार्मिक क्षेत्रको भ्रमणमा जुटेकी छन् । शनिबार काभ्रेको नालामा ब्रह्माको मूर्ति अनावरण र पार्क उदघाटन गरेकी भण्डारी आइतबार सुनसरीको धरान पुगेकी थिइन् । उनले धरानका विभिन्न धार्मिक क्षेत्रको अवलोकन, पूजापाठ गरेकी थिइन् ।
तर राष्ट्रपतिको भ्रमणमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई कहीँकतै देखिएनन् । राष्ट्रप्रमुख आफ्नो नगर क्षेत्रमा भ्रमणमा आउँदा मेयरले उनलाई स्वागत गर्ने, त्यहाँको सम्पदाबारे जानकारी गराउने हो । तर, मेयर राई मात्र होइनन्, उपमेयरसमेत राष्ट्रपतिको भ्रमण टोलीमा देखिएनन् ।
राष्ट्रपति भण्डारीले विजयपुरका प्रसिद्ध मठमन्दिरहरूको दर्शन तथा पूजा अर्चना गरेकी थिइन् । नेपाली सेनाको हेलिकप्टरद्वारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पूजा अर्चना गरेकी हुन्। यी तीनवटै मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुर गढीमा रहेको छ।
धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेकी थिइन्। बराहक्षेत्र दर्शन सकेर राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत धरान–१३ फुस्रेस्थित सैनिक आवासीय माविमा अवतरण भएकी थिइन्। त्यहाँ उनलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश सांसदहरुले स्वागत गरेका थिए।
दन्तकाली मन्दिरमा करिब २० मिनेट राष्ट्रपति भण्डारीले विशेष पूजा गरेकी थिइन्। त्यसपछि पिण्डेश्वर मन्दिरमा पूजा गरेकी थिइन्। पिण्डेश्वरमा राष्ट्रपति भण्डारीलाई धरानका जनप्रतिनिधिहरू, मन्दिर व्यवस्थापन समिति तथा स्थानीयबासीहरुले स्वागत गरेका थिए।
पिण्डेश्वर मन्दिरपछि राष्ट्रपति भण्डारीले बुढासुब्बाको दर्शन तथा पूजा गरेकी थिइन्। यो मन्दिर बिशेष गरी किरातीहरुको आस्थाको केन्द्र हो भने सबै जातजातिहरुले पनि मनोकांक्ष पूरा हुने विश्वासका साथ पूजा गर्ने गर्छन्। मन्दिरभित्र माटोको ढिस्को मात्र छ। त्यसैलाई नै पूजा गरिन्छ।
राष्ट्रपति भण्डारी धरान पुगेपछि धरानका मेयर हर्कले फेसबुकमा लेखे– जाम होला भनेर म आइनँ । आइतबार पोखरामा विमान दुर्घटना भएकाले दुर्घटनास्थलमा धेरै भीड भएकाले हर्कले व्यंग्य होला भन्ने धेरैलाई लाग्यो ।
तर उनले पछि स्पष्टीकरण गर्दै लेखे– यो पोखराको कुरा होइन है, धरानमा राष्ट्रपति आउँदा भएको भीडबारे हो । यसरी एउटा राष्ट्रप्रमुखको भ्रमणमा मेयरसमेत उपस्थित नभई फेसबुकमा उनले राष्ट्रपतिको भ्रमणलाई उडाएर लेखेपछि धराने खुसी देखिएका छैनन् । केही दिनअघि सांसद अशोक राई धरान पुग्दा मेयर राई दौरासुरुवाल लगाएर ठाँटबाँटसहितको फोटो फेसबुकमा राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।