काठमाडौं - सांसदको शपथ खाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।
संसदको चौथो ठूलो शक्ति भएकाले आगामी पाँच वर्षसम्म सरकारमै बसेर आफ्ना एजेन्डा लागू गर्ने निष्कर्षमा उनी पुगेका हुन् । त्यही भएर अहिले उनले आफ्नो पार्टीका सबै निर्णय गोप्य नै राखेका छन् । कसैलाई केही जानकारी दिएका छैनन् ।
.बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि दिएको टिप्पणीमा उनले सरकारमा जान सकिने संकेत गरे । अहिले कुनै पनि दलले बहुमत नल्याएकाले गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता छ । नेपाली कांग्रेसले अहिलेकै गठबन्धनमा केही दल थपेर सरकार चलाउन सकिने निर्णय गरेको छ ।
कांग्रेस नेताहरूका अनुसार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सहकार्यका लागि इच्छुक रहेको कांग्रेस नेताहरूको दाबी छ । केही दिनअघि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे छलफल गरिसकेका छन् ।
देउवा र लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको थियो । बधाई दिने भन्दै बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्री देउवाको समय लिएर सरकारको विषयमा छलफल गरेका थिए । रास्वपाका नेता दीपक बोहोराको बालुवाटारसँग सम्बन्ध राम्रो छ ।
बोहोराकै प्रयत्नले बालुवाटार पुगेर लामिछानेले आफ्नो पार्टी सरकारमा सामेल हुन तयार भएको प्रस्ट पारेका थिए । लामिछानेको प्रस्तावपछि देउवा सकारात्मक भएका छन् । तर, यो कुरा उनले बाहिर सार्वजनिक गर्न चाहेका छैनन् ।
बिहीबार संसद् भवनभित्र शपथ सकिएपछि लामिछानेले प्रधानमन्त्री देउवासँग केही कुरा गर्न चाहेका थिए । तर देउवाले सार्वजनिक हुने ठानेर पछि कुरा गर्ने संकेत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।