काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन कायम राख्दै आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्नुअघि बसेको पदाधिकारी बैठकले यस पटक सरकारको नेतृत्व आफ्नो हुनुपर्ने निर्णय गरेको छ।
आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयपछि अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रधानमन्त्री नपाए कांग्रेससँगको यात्रा अहिलेलाई टुंगिने धम्की प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका छन् ।
चीनबाट फर्किएलगत्तै माओवादी केन्द्रका उपमहासचिव तथा पार्टीभित्र निर्णायक हैसियत राख्ने नेता वर्षमान पुनले एमालेसँग मिलेर सरकार गठन गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रयास थालेका छन् । एमालेका नेताहरुसँग पुनले यसअघि नै कम्युनिष्टहरु फेरि मिल्नुको विकल्प नरहेको भन्दै आएका थिए । पुन चीनबाट फर्किएलगत्तै एमाले र माओवादीसहितको सरकार बन्न सक्ने सम्भावनाले एकाएक राजनीतिमा चर्चा पाएको छ ।
चीनले नेपालमा एमाले र माओवादी मिलेर सरकार बनाऊन् भन्ने चाहना राख्नु नयाँ होइन । यसपटक वर्षमान पुनले चिनियाँ उच्च अधिकारीहरुसँग भेटेको आधिकारिक जानकारी दुवैतिरबाट सार्वजनिक गरिएको पनि छैन । तर, यसै साता चिनियाँहरुको एउटा टोली काठमाडौंसमेत आएको थियो ।
नेपाल अहिले भूराजनीतिक रुपले संवेदनशील ठाउँमा छ । ‘इण्डो अमेरिकन’ लबी यही गठबन्धनको सरकार कायम राख्न सक्रिय भइरहेका वेला प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर निकाल्न माओवादी केन्द्रकै प्रभावशाली नेताहरु लागिपरेका छन् ।
कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री माओवादीलाई दिन चाहेको छैन र राष्ट्रपति पनि दिन मानिरहेको छैन । प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री पाएर सम्मानजनक शक्ति बाँडफाँट नभए गठबन्धनको यात्रा यही टुंगिने प्रस्ट सन्देश देउवालाई दिएको निकट नेताहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।