काठमाडौं - नयाँ सरकार गठनको प्रयास भइरहेका बेला एक्कासि बाहिरबाट राष्ट्रपति ल्याउने चलखेल सुरु भएको छ ।
यसअघि प्रधानन्यायाधीशकै पदमा रहेर मन्त्रिपरिषद्को अध्यक्ष बनेका खिलराज रेग्मी राष्ट्रपति बन्ने खेलमा लागेका छन् । विभिन्न शक्तिकेन्द्रमार्फत उनी राष्ट्रपति बन्न लागेको खबर बाहिरिएपछि नेपालको राजनीतिमा सनसनी मच्चिएको छ ।
रेग्मी यस्ता पात्र हुन् जसकै कारण नेपालको न्यायपालिकाले गम्भीर क्षति बेहोरेको थियो । कार्यपालिका र न्यायपालिकाको प्रमुख एकै व्यक्ति भएका बेला रेग्मीले न्यायपालिका तहसनहस पारेका थिए ।
आफू मन्त्रिपरिषद्को अध्यक्ष बन्ने लोभमा उनले संविधानसभा नै भंग गरिदिएका थिए । उनकै नेतृत्वको सरकारले गराएको दोस्रो संविधानसभापछि ठूलो दल बन्दै नेपाली कांग्रेसको सरकारले नयाँ संविधान जारी गरेको थियो ।
अहिले कुनै पनि दलले स्पष्ट बहुमत नल्याएपछि धमिलो पानीमा माछा मार्ने खेलमा रेग्मी लागेका छन् । यही सन्दर्भमा रेग्मीले मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग संवाद गरेको खुलेको छ ।
प्रधानमन्त्री देउवाले नै बोलाएर रेग्मी गएको हो वा रेग्मीले कुनै शक्तिकेन्द्रमार्फत राष्ट्रपति बन्न प्रधानमन्त्री देउवालाई दबाब दिएको हो त्यो भने खुल्न सकेको छैन । तर, स्रोतले भने रेग्मी राष्ट्रपति बन्ने कसरतअनुरुप नै बालुवाटार पुगेको पुष्टि गरेको छ ।
यतिबेला प्रधानमन्त्री देउवा नयाँ राष्ट्रपति कसलाई बनाउने भन्ने छलफलमा जुटेका छन् । त्यसका लागि बालुवाटारमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग उनले परामर्श गरिरहेको बताइन्छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, नन्दबहादुर पुनलगायतको चर्चा छ ।
तर, पछिल्लो समय प्रधानमन्त्री देउवा न्यायपालिका वा स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाउने खेलमा लागेको खुलेपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । कांग्रेस मात्र होइन, माओवादी, एकीकृत समाजवादी, लोसपालगायतका दलले पनि असन्तष्टि जनाइरहेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।