काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गर्न एमालेसँग सहकार्यको पासा फ्याँकेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आक्रोशित भएका छन् ।
सत्तागठबन्धन गरी निर्वाचनमा गएर अन्तिम नतिजा नआउँदै प्रचण्डले अस्वाभाविक चलखेल गरेपछि माधव रिसाएका हुन् । सोमबार बिहान एक सय ६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।
जसअनुसार नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा समान सात–सात सिट, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, जनमत पार्टी र नेमकिपाले एक–एक र स्वतन्त्रले पाँच सिट जितेका छन् ।
निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल हुने भएको छ। जसले गर्दा कांग्रेस नेतृत्वमै सरकार गठन हुने परिस्थिति छ । तर प्रचण्डले एमालेसँग पनि मिल्ने पासा फ्याँकेपछि आइतबार दिनभर माओवादी र प्रचण्डको आलोचना भयो ।
त्यसलगत्तै माओवादीको पदाधिकारी बैठकले अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको थियो । सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई ‘मिसन’ बनाएका हुन्।
तर, माधव नेपाल भने कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । प्रचण्डले फेरि दोगला चरित्र देखाउन थालेपछि सोमबार सत्तागठबन्धनको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डको झाँको झार्ने तयारी गरेको स्रोतले बतायो । प्रचण्ड एमालेसँग गए पनि ऊविनै बहुमतको सरकार निर्माण हुने गणित रहेकाले बाध्य भएर माओवादीले आइतबार अर्को निर्णय गरेको थियो ।
गठबन्धन जोगाएर जानुपर्छ भन्ने लाइनमा रहेका माधव नेपालले प्रमुख पदहरू बाँडफाँट र कार्यविभाजन मिलाएर सरकार बनाउनुपर्ने बताएका छन् । निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएको माओवादीले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद ताकेको छ । तर, कांग्रेसमा प्रचण्डलाई साइजमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।