काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सम्बन्धित सबैलाई बधाइ दिएका छन्। उत्साह, संयम र धैर्यका साथ निर्वाचन गराउन सक्रिय भएका र अमूल्य मत दिएका मतदाताप्रति सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
‘आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु,’ मतदान अवधि सम्पन्न भएपछि देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ।
निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई उनले धन्यवाद दिएका छन्।
यस्तो छ देउवाको वक्तव्य
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ। संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन्। यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ। मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ।
आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त हो। यो निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु। निर्वाचनमा तपाईहरुको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसाल्नु भएकोमा सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा दिएको छ। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पुर्याएको छ।
शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु। साथै, निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
जय नेपाल!
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।