काठमाडौं - काठमाडौंका दशमध्ये निर्वाचन क्षेत्र ७ मा कसले जित हात पार्ला भन्ने सर्वत्र चासो देखिएको छ । यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट मानुषी यमी, एमालेबाट श्याम घिमिरे, जसपाबाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट रामवीर मानन्धर उम्मेदवार बनेका छन् ।
मानन्धर र श्रेष्ठ निवर्तमान सांसद पनि हुन् । एमाले अध्यक्ष केपी ओलीले मानन्धरलाई टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अहिले चारैजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलेको छ । धेरैले यहाँ मानुषी यमीले जित्ने प्रक्षेपण गरेका छन् ।
तर, ग्राउन्ड रियालिटी अर्कै छ । यो निर्वाचन क्षेत्रमा निवर्तमान सांसद मानन्धरको बलियो पकड छ । एमालेको आधा मत उनीसँग छ । नेपाली कांग्रेसको उम्मेदवार कोही पनि नरहेकाले मानन्धरलाई आधा मत जाने अनुमान गरिएको छ ।
पछिल्लो समय मानन्धरको कांग्रेस नेताहरूसँग सम्बन्ध सुदृढ बन्दै गएको छ । एमालेले भने यो क्षेत्रमा आफ्ना उम्मेदवारले जित्ने दाबी गर्दै आएको छ ।
घिमिरेलाई एमालेले जित्ने सूचीमा राखेको छ । अधिकांश मतदाता नेवारी समुदाय रहेको र गण्डकी प्रदेशबाट आएकाहरूको बाहुल्यता यो क्षेत्रमा छ ।
१६ कात्तिकमा नागरिक नेटवर्कले गरेको भिडियो अन्तर्वार्तामा काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले त्यही क्षेत्रका एमाले उम्मेदवार श्याम घिमिरेले नेतृत्वलाई लाखौँ पैसा बुझाएर टिकट लिएको हाकाहाकी दाबी गरे ।
मानन्धर र घिमिरेबीच पैसामा टिकट किनेको आरोप–प्रत्यारोप नै चल्यो । तर, मानन्धरले प्रमाणका रूपमा पैसा बुझाएको बैंक खाता नम्बर नै बताइदिने भनेपछि घिमिरे रक्षात्मक बने, मौन बने ।
‘पैसा (घिमिरेले) बुझाए कि बुझाएनन् त्यो सोध्नुस् । नभए म खाता नम्बर भन्दिउँ कति बुझायो भनेर ? यो कुरा भन्दियो भने के हुन्छ ? पूरै सर्वांग नबनौँ, पारदर्शी बनौँ भन्ने मात्र हो । खातामा जम्मा गर्ने मान्छेलाई सोध्नुस्,’ मानन्धरले अन्तर्वार्ताकारसँग घिमिरेतिर देखाउँदै भने, ‘होइन भने खाता नम्बर लेखेर ल्याएको छु, भन्दिनुपर्यो भने उहाँ (घिमिरे) लाई अप्ठ्यारो नपरोस् ।’ घिमिरेले यसको प्रतिवाद गर्न सकेनन्, बरु पन्छिन खोजे । टेबुलमा रहेको गिलास उठाएर पानी खाएर भने, ‘नचाहिएको कुरामा मलाई बोल्न जरुरी छैन ।’
मानन्धर ०७४ मा एमालेकै तर्फबाट विजयी भएका थिए । यसपटक टिकट नपाएपछि उनी पार्टीविरुद्ध बागी उम्मेदवारका रूपमा खडा भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।