काठमाडौं - काठमाडौंको निर्वाचनमा नेकपा एमाले भित्र ठूलो असन्तुष्टी देखिएको छ। उम्मेदवार चयनमा मनोमानी गरेको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि पोखिरहेका छन्।
केन्द्रीय स्तरका नेताले समेत काठमाडौंमा एमाले पत्तासाफ हुने अभिव्यक्ति दिन थालेका छन्। एमाले नेता तथा सांसद् रामवीर मानन्धरले काठमाडौंमा एमाले पत्तासाफ हुने घोषणा गरेका हुन्।
उनले एक पत्रिकालाई दिएको अन्र्तवार्तामा काठमाडौंमा एमालेले नराम्रो पराजय भोग्ने बताएका हुन्। ‘यहाँ गठबन्धन हुँदा एमालेको हालत के हुन्छ? गठबन्धन हुँदा कांग्रेसको त प्लस हुने नै भयो । काठमाडौँमा गठबन्धन हुँदा एमालेले कति मतान्तरले हार्छ? म त काठमाडौँमा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था देखिरहेको छु,’ उनले भनेका छन्।
काठमाडौंमा एउटा महानगरपालिका र १० वटा नगरपालिका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले ७ वटा र नेपाली कांग्रेस ४ वटा स्थानीय तह जितेको थियो ।
३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा हाल ३ लाख ३ सय २६ मतदाता छन् । अघिल्लो चुनावमा काठमाडौँ महानगरपालिकामा २ लाख ७९ हजार ३ सय ९ मतदाता थिए । १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । जसमध्ये २९ हजार ९ सय ४१ मत बदर भएको थियो ।
०७४ को निर्वाचनमा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर जित्नुभयो भने, उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर जितेकी थिइन्। ‘कांग्रेसकी खड्गीभन्दा एमालेका शाक्य मत ६ हजार मात्रले मात्र अगाडि हो । काठमाडौँमा कांग्रेस कमजोर छैन ।
गठबन्धनले कांग्रेसलाई थप बलियो बनाएको छ,’ उनले भनेका छन्। इमान्दार कार्यकर्ताको मूल्यांकन नै गर्न छाडेपछि, कार्यकर्ताको मनोबल, इच्छा र आकांक्षा नै नेतृत्वले नबुझ्ने भएपछि के हामी कार्यकर्ता लेवी तिर्न मात्रै हो र ? भनेर उनले एमाले अध्यक्ष केपी ओली माथि प्रश्न गरेका छन्।
‘के हामीजस्ता कार्यकर्ताले एमालेमा आफ्नो अधिकार प्रयोग गर्न पाइँदैन ? हामीले जनतामाझ धेरै प्रतिवद्धता जाहेर गरेका छौँ । समृद्ध नेपाल, सुखी नेपाली भन्नका लागि मात्रै थियो त ? एउटा व्यक्तिको रहर र लहडले सबै ध्वस्त पार्ने ? हामीले आफ्नो औकात र हैसियत कहिल्यै बिर्सनु हुँदैन । को मेरो घरवेटी थियो भन्ने नबिर्सदै राम्रो होला,’ उनले भनेका छन्, ‘हिजो झण्डै दुईतिहाइको केन्द्रीय सरकारसँगै सात प्रदेश मध्ये ६ वटामा हाम्रो सरकार थियो। राष्ट्रिय सभामा दुईतिहाइ सांसद थिए ।
अहिले अवस्था के छ ? अझ भोलि के होला अवस्था ? जिउ सबै तल परिसक्यो, अनि एउटा खुट्टा माथि राखेर मैले जिते भनेर कसैले भन्छ भने मलाई केही भन्नु छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।