बेनी– म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लंघन गरेको भन्दै दुई जना उमेदवारलाई स्पष्टीकरण सोधेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उमेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो ।
अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लवलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिए ।
श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित नेपाली कांग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।
निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लवलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ ।
श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ । चामल वितरण गरेको विषयमा सञ्चार माध्यमहरुमा समाचार समेत सार्वजनिक भएको थियो ।
पहिलो पटक आचार संहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन? के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि वस्तु वितरण गर्न पाइदैन । मतदाता प्रभावित बनाउन खोज्ने उमेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।