काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबद्र्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ ।
यही असोज ४ गते काठमान्डौंस्थित आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् ।
अर्धवार्षिकरूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पुर्याउँदै आइरहेको कलेजले बताएको छ ।
राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रबद्र्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए ।
“उद्यमशीलता प्रबद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,” साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए, “किंग्स् कलेजजस्तो उद्यमशीलताकेन्द्रित प्रतिष्ठित शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ ।”
श्रेष्ठका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यस कार्यक्रममा विज्ञहरू, आर्थिक साझेदार तथा उत्कृष्ट तीन सहभागीलाई बैंकको प्रक्रिया र नियमानुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएका छन् ।
“कलेजले कार्यक्रमको योजना, आयोजना तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारीसँगै आर्थिक साझेदारी र विज्ञहरू पनि उपलब्ध गराउनेछ,” अर्यालले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।