काठमाडौं - सात वर्षअघि एमाले अध्यक्ष केपी ओलीले जब विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारे, त्यतिबेलै धेरैले अब शीत्ल निवास एमालेको रबर स्ट्याम्प बन्ने अड्कलबाजी गरेका थिए ।
अहिले दोस्रो कार्यकालको अन्तिमतिर रहेकी भण्डारीले विगतमा आमनेपालीले गरेको आशंकालाई प्रमाणित गरेरै छाडेकी छन् । एमाले त्यसमा पनि केपी ओली गुटको मात्र राष्ट्रपति बनेकी भण्डारीले संघीय संसदले दुई दुईपटक पारत गरेर प्रमाणीकरण गर्न पठाएको नागरिकता विधेयक खोपीमा थन्क्याएकी छन् । राष्ट्रपतिलाई संविधानको संरक्षक भनिएको छ ।
तर, संरक्षकबाटै संविधानको घोर उल्लंघन भएको छ । असक्षम व्यक्तिलाई दलीय समीकरण र स्वार्थका कारण राष्ट्रको सर्वोच्च पदमा पुर्याउनुको परिणाम पनि हो यो।
सदनले दोहोर्याएर पास गरेर पठाएको विधेयकलाई प्रमाणीकरण नगर्ने कुनै पनि छुट राष्ट्रपतिलाई छैन। संविधानले उनलाई त्यो छुट दिएको छैन। त्यसमाथि ओली सरकारका हरेक सिफारिस र अध्यादेशलाई निमेषभरमै सदर गर्ने (यसमा नागरिकता अध्यादेश र दुईपटकका संसद विघटन सिफारिस पनि छन्) राष्ट्रपतिले अहिले संविधान तोडेकी छन्।
प्रमाणीकरण गर्न नसक्ने अवस्थामा उनले राजीनामा गर्ने हो अरू विकल्प थिएन र छैन। अब नयाँ संसदले उनलाई महाअभियोग लगाउन सक्छ। विधायिकाको अधिकारमाथि राष्ट्रपतिले हस्तक्षेप गर्ने अधिकार छैन।
एकथरि एमालेले भनेजस्तो यो कटवाल प्रकरण होइन। त्यसबेलाका राष्ट्रपतिले पनि संविधानत गल्ती गरेका हुन्, तर त्यो सरकारको निर्णय थियो, यो संसदले पास गरेको विधेयक हो। संसदले दोहोर्याएर पास गरेको विधेयक रोक्ने अधिकार राष्ट्रपतिसँग छैन, संसदभन्दा माथि कोही छैन।
राष्ट्रपति जस्तो पदमा बसेर कुनै एक दलको गोटी भइरहनु दुखद् कुरा हो। यसले शीतल निवासमा दलको दादागिरी हावी भइरहेको प्रमाण पनि हो। भण्डारीको बदमासीले नेपालको अर्थ–राजनीतिमा कुन वर्ग र कस्तो चिन्तन हावी छ भन्ने फेरि एकपटक प्रस्ट पारेको छ ।
संस्थाको गरिमा जोगाउन र सीमान्तीकृत समूह, वर्गमा लोकतन्त्रप्रतिको भरोसा मर्न नदिन पनि भण्डारीलाई राजीनामा दिन बाध्य पार्नुपर्ने अवस्था आइसकेको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक अस्वीकार गरेसँगै सत्तारुढ गठबन्धनको बैठक बुधबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। आजको बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयबारे छलफल हुने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।