काठमाडौं - नेपालले आज आठौं संविधान दिवस मनाउँदै आएको छ । २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको थियो ।
संविधान जारी भएयता पाँचवटा सरकार बनेका छन् । दुईपटक केपी ओली, दुईपटक नै शेरबहादुर देउवा र एकपटक प्रचण्ड प्रधानमन्त्री बनेका छन् । तर, आठौं संविधान दिवस मनाउँदै गर्दा दलहरूबीच तिक्ततापूर्ण सम्बन्ध देखिएको छ ।
एउटा पक्षको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको छ भने अर्कोतर्फको नेतृत्व एमालेले गरेको छ । एमाले अध्यक्ष केपी ओलीकै कारण अहिले देश दुई ध्रुवमा विभक्त भएको छ । उनकै सल्लाहका कारण शीतल निवास पनि सरकारविरोधी गतिविधिमा देखिएको छ ।
अहिले कार्यपालिका र व्यवस्थापिका एक ठाउँमा र राष्ट्रपति तथा न्यायपालिकालाई अर्को कित्तामा उभ्याउने प्रयास भएको छ । जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मलजल गर्ने काम गरिरहेकी छन् ।
डेढ वर्षअघि ओली सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेदेखि नै राष्ट्रपति भण्डारी असन्तुष्टि देखिएकी थिइन् । उनमा कहिल्यै पनि यो सरकारप्रति सकारात्मक भाव देखिएन । चाहे नागरिकता विधेयक होस् वा अन्य ।
सरकारको काममा टाङ अड्काउने काम उनले गर्दै आएकी छन् । अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बहादवाला प्रधानन्यायाधीशसरह व्यवहार देखाएर राष्ट्रपति भण्डारीले देशमा विग्रको बीजारोपण गरेकी गरेकी छन् ।
आठौं संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजना हुने रात्रि भोजमा उनले जबरालाई बहालवाला प्रधानन्यायाधीशसरह निमन्त्रणा पठाएपछि सरकार असन्तुष्ट बनेको छ ।
वर्तमान सरकारको निर्णयलाई चुनौती दिँदै जबरा सर्वोच्च अदालत जान खोजेपनि अवस्था जटिल बन्दै गइरहेका बेला राष्ट्रपति भण्डारीले भने झन् जबरालाई उकासिरहेको सत्तारुढ नेताहरूको ठम्याइँ छ । यसले आगामी दिनमा राष्ट्रपति पनि विवादमा पर्न सक्ने सम्भावना देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।