काठमाडौं- सत्ता गठबन्धनमा रहेका पाँच दलले सिट भागबण्डा टुंग्याउन नसक्दा थप समस्या सिर्जना भएको छ। सत्ता गठबन्धनलाई टुक्र्याउनका लागि थप नेकपा एमाले र विशेष गरी चिनियाँ शक्ति केन्द्र लागेको छ।
नेपालमा रहेका चिनियाँ एजेन्टहरुले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष र एकीकृत समाजवादीका नेताहरुलाई भेटेर कांग्रेससँग गठबन्धन नगर्न दबाब दिइरहेका छन्।
यसअघिदेखि नेपालमा चिनियाँ एजेण्टको ट्याग लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनमा सहभागी नभएर नेकपा एमालेसँग मिल्नुपर्ने चिनियाँ दबाब रहेको छ। जसका कारण उनी गठबन्धनको बैठक छल्न चाहन्छन्।
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको शनिबार साँझ बसेको बैठकमा पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन्। गठबन्धनका शीर्ष नेताहरु उपेन्द्रलाई करिब एक घण्टाभन्दा बढी कुरेका थिए। उपेन्द्र यादव बैठकमा सहभागी नभएपछि कुनै निष्कर्षमा नपुगेरै बैठक सकिएको हो।
गठबन्धनमा सबै दलहरुले आ-आफ्नो दाबी कायमै राखेका छन्। जसपाले मधेस प्रदेशमा र प्रदेश १ मा मोरङ ५ र धनकुटा मागेको छ। तर काङ्ग्रेसले दुईवटा दिन नसक्ने बताएपछि कुरा नमिलेको हो। जसपाले आफूलाई गठबन्धनबाट बाहिर निकालेर एमालेसँग मिल्ने दाउ खोजिरहेको छ।
सोही विषयलाई इंगित गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष यादवले गठबन्धनमा सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्। सम्मानजनक स्थान नपाए जसपा गठबन्धनमा बस्न बाध्य नहुने चेतावनी दिएका हुन्।
पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै यादवले जसपालाई उचित स्थान नदिए गठबन्धनबाट बाहिर गएर एक्लै निर्वाचन लड्ने चेतावनी दिएका छन्। उनले सोही प्रकारको चेतावनी यसअघि काठमाडौंमा पनि दिएका थिए।
यादवले गठबन्धनको नाममा आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए। लोकतन्त्र र संविधानमाथि आक्रमण गर्ने अभिप्रायले प्रतिनिधिसभा भंग गरिँदा जसपा नै सबैभन्दा पहिले सडक आन्दोलनमा उतारिएको दाबी गर्दै यादवले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि गठबन्धनमा जान तयार भएको बताए।
लोकतन्त्र र संविधानको रक्षाका लागी जसपाले सडक आन्दोलन गरेको बताउँदै उनले आज गठबन्धनमा जसपालाई कमजोर बनाउने षडयन्त्र भइरहेको आरोप लगाएका हुन्।
माओवादी ६० बाट झरेर ५० सिट लिन र कांग्रेस पनि १ सय सिटमा अडान राखे पनि ९० मा झर्न तयार भएपनि जसपा र एकीकृत समाजवादीको मागका कारण सहमति जुट्न नसकेको नेताहरु बताउँछन्। प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३ सय ३० सिटको बाँडफाँटमा सहमति जुटे गठबन्धन बन्नेछ। यदि सहमति नजुटेको अवस्थामा राजनीतिले फरक मोड लिने नेताहरु बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।