काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अहिले महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ ।
आइतबार चौथोपटक बयान लिएको समितिले अहिलेसम्म ३५ प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । जुन आजै सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ ।
जबरा अहिले ‘हम तो डुबेंग सनम, तुमको भी साथ लेकर डुबेंगे’ भन्ने शैलीमा प्रस्तुत भइरहेका छन् । आफैं पदमा नरहने भएपछि किन अरुलाई पनि बाँकी राख्ने ढंगले उनले सबै कुरा एक एक गरी खोल्दै गएका छन् ।
प्रधानन्यायाधीशको कुर्सीमा बसेको व्यक्तिले त्यसरी प्रस्तुत हुन मिल्थ्यो मिल्दैनथ्यो, आफ्नो ठाउँमा छ । तर, आफू तल पर्ने भयले जबराले सबैको पोल खोल्न थालेका छन् ।
केही अघिसम्म उनले सबैको नाम पोलेका थिए । एमाले अध्यक्ष केपी ओलीलाई भने तारिफ गर्थे । ठूलो र बुझेको नेता भन्थे । एमालेले पनि जबरालाई महाअभियोग पारित नगर्ने संकेत देखाउँदै उनलाई बचाउने नीति लिएको थियो ।
तर आइतबार भने जबराले ओलीको नाम पनि झोसेका छन् । त्यो पनि सर्वोच्च अदालतको भवन ठेक्का प्रकरणमा । महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले ओली र विष्णु पौडेलको सहयोगका कारण आफूले ठेक्का सदर गरेको जिकिर गरेका हुन्।
सर्वोच्च अदालतको भवन निर्माणका क्रममा जबराले अधिकारबाहिर गएर भवन निर्माणसम्बन्धी ठेक्का सदर गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको सहयोगले नै ठेक्का सदर गरेको जबराले बयानमा बताएका समितिको बयानपछि समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।
‘उहाँले आफूले त्यो ठेक्काको फाइल तानेर आफैँले सदर लेख्नुभएको छ। सदर गरेको प्रमाण आज उहाँ आफैँले पनि देखाउनुभयो,’ विश्वकर्माले भने, ‘त्यहाँ उहाँले के भन्नुभयो भने मलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग पनि गर्नुभएको छ। तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ।’
सर्वोच्चको भवन ठेक्का प्रकरणमा ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । जबराले ओली र पौडेलको नाम मुछेपछि अहिले एमाले वृत्तमा तरंग पैदा भएको छ ।
जबराविरुद्धको महाअभियोग पारित गर्ने कि नगर्ने भन्ने द्विविधामा एमाले परेको छ । एमालेले साथ दिए जबराविरुद्धको महाअभियोग दुई तिहाइले पारित हुने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।