काठमाडौं - कैलाली–५ बाट उम्मेदवारका लागि एमालेले नारमुनि रानालाई एकल सिफारिस गरेको छ । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका रानाले २०७४ को निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवालाई पराजित गरेका थिए ।
वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुभन्दा ४८ सय ८० मत ल्याएर विजयी भएका थिए । तर यसपटक नारदमुनिको चुनावी यात्रा २०७४ को भन्दा कठिन हुने देखिन्छ ।
यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवदी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा जाने सम्भावना बलियो बनेको छ । पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु देउवा उम्मेदवार बन्ने पक्का जस्तै देखिन्छ ।
त्यसो भएमा नारदमुनि रानालाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली ५ बाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी ३२ हजार नौ सय ६० मत आएको छ ।
उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार चार सय एक मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिनछ ।
यो मतान्तर घटाउनु नारदमुनि रानाका लागि निकै चुनौतीको विषय हुने छ । कैलालीमा यसपटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव देखिएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गर्दछ । कैलाली ५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।
२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४ सय ६४ मत ल्याएर तेस्रो बढी भोट पाउने उम्मेदवार बनेका थिए । यसपटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँटोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । लक्ष्मण थारुले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने आकलन गर्न सकिन्छ ।
कैलाली ५ मा नारदमुनि रानाको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मान्छि । लक्ष्मण थारु पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनिका लागि लक्ष्मण चौधरी ठूलो चुनौती बन्ने छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलाली–५ मै पर्ने धनगढी उप महानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजोर स्थिततिमा देखिएको थियो ।
२०७४ मा एमालले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । रानाप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिन थालेको छ ।
उनले असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न नसकेमा सोचेअनुसारको भोट नआउन पनि सक्दछ । कैलाली ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् ।
स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार सात सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७७६ मत पाएको छ ।
त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार नौ सय ९३ तथा कैलारीका दुई वडाबाट १४ सय आठ मत गरी १७ हजार ४०१ मत पाएको छ ।
माओवादी केन्द्रले धनगढीका १९ वडाबाट आठ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले वडास्तरबाट दुई हजार नौ मत पाएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।