काठमाडौं– नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी भएको छ।
सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणीकरणका लागि पठाउने तयारी गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन्।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्यक्ष र विर्मशका लागि ७ बुँदे र ध्यानाकर्षणका भन्दै अर्को ८ बुँदे सन्देश पठाएकी थिइन्।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन। प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो।
त्यस्तै राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयक कुनै परिवर्तन भएन। राष्ट्रिय सभाले विधेयक पारित गरेको जानकारी भदौ १९ गते प्रतिनिधि सभालाई पठाएको थियो।
राष्ट्रिय सभाको सन्देश प्राप्त भएलगत्तै आजै सभामुख अग्नि सापकोटाले विधेयक राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरेको हो। संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाउन सक्ने व्यवस्था छ।
तर पुनर्विचारका लागि फिर्ता भएको विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुन पेश गरेपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नेपर्ने व्यवस्था संविधानकै धारा ११३ को उपधारा ४ मा छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।