काठमाडौं - कांग्रेस नेता प्रदीप गिरीको निधनमा सिंगो देश नै स्तब्ध भएको छ । उनको स्वास्थ्य स्थिति गम्भीर भएको भन्ने खबर फैलिएपछि देशभर प्रार्थनासमेत गरिएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता रामचन्द्र पौडेल, शेखर कोइराला, पूर्णबहादुर खड्कालगायत हरेक दलका शीर्ष नेताले प्रदीप गिरीको निधनमा शोध व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी छन्, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं।
म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’ प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्– ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद खडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ एमाले अध्यक्ष केपी ओलीले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।
उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेका छन् , ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु ।’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लेखेका छन्, ‘४५ बर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले स्तब्ध छु । वहॉसंगको लामो र गहन विमर्शका सुखद स्मृतिहरू सधैं जीवित रहनेछन्१ वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहॉको अभाव झन् खट्किरहनेछ । वहॉप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना ।’
कांग्रेस नेता डा. शेखर कोइरालाले भनेका छन्– ‘नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदीप दाइले पुर्याउनुभएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहन्छ ।
नेपालको सिंगो राजनीति र सिंगो कांग्रेस पार्टीमा प्रदीप दाइको अभाव सधैँ खट्किरहनेछ । शोकाकुल यस समयमा समस्त परिवारमा समवेदना तथा स्व। प्रदीप दाइप्रति भावपूर्ण श्रद्धाञ्जली ।’
एमाले महासचिव शंकर पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीतिका एक अध्ययनशील चिन्तक तथा विचारक नेता प्रदीप गिरिज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली ।’
कांग्रेस नेता तथा उद्योगी विनोद चौधरीले लेखेका छन्, ‘मेरा सहृदयी मित्र नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले स्तब्ध भएको छु । प्रदीपजीको निधनसंगै मुलुकले एक इमान र निष्ठाको राजनीतिका शिखर पुरुष गुमाएको छ । स्वर्गीय प्रदीपजीप्रती भावपूर्ण श्रद्धाञ्जली ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।