काठमाडौं - नेपालको अर्थतन्त्र ध्वस्त गर्ने, कमिसन र बिचौलियालाई महत्व दिने माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने चर्चा सुरु भएको छ ।
आइतबार बिहानैदेखि शर्मालाई पुनः मन्त्री नियुक्त गरिने हल्ला हावासरी फैलिएको छ । कतिसम्म भने आजै उनलाई सपथ खुवाउनेसम्मको तयारी भएको चर्चा छ । शर्मालाई पुनः अर्थमन्त्री बनाउने हल्लासँगै सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले आर्थिक अनियमिततामा डामिएका व्यक्तिलाई फेरि मन्त्री बनाउन नहुने भन्दै ध्यानाकर्षणको ओइरो लागेको छ ।
अक्षम र अनैतिक प्रमाणित भइसकेको व्यक्तिलाई कोही नभएको जसरी पुनः अर्थमन्त्री बनाउनु बिडम्बना भएको र यो घटनाले आगामी दिनमा नेपाली कांग्रेसलाई ठूलो धक्का लाग्ने विश्लेषण गर्न थालिएको छ ।
शर्मालाई अर्थमन्त्री बनाइए एमालेले चुनावमा गज्जबको एजेन्डा पाउने देखिएको छ । शर्माकै कारण अर्थतन्त्र डामाडोल भएको जगजाहेर नै छ । त्यसैले आगामी निर्वाचनमा कांग्रेस र माओवादीले ठूलै धक्का बेहोर्ने निश्चित छ ।
स्थानीय तहको निर्वाचन र बजेटअघि नै शर्मालाई हटाउन व्यापक दबाब परेको थियो । स्वयं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अर्थमन्त्रीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलसमेत गरेका थिए ।
माओवादीमै पनि उनलाई अर्थमन्त्री बनाउन नहुने मत बलियो थियो । तर अहिले एमालेलाई देखाएर शर्मालाई फेरि अर्थमन्त्री बनाउने तयारी छ । बजेटमा करको दर हेरफेरमा शर्माले अनधिकृत मान्छेलाई प्रवेश गराई व्यापारी व्यवसायीको हितमा काम गरेको आरोप लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।