काठमाडौं - आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटको करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको घटनापछि अर्थमन्त्री पद गुमाएका जनार्दन शर्मालाई बचाउन अर्थ मन्त्रालयका कर्मचारी एकजुट भएका छन् ।
सो घटनाको छानबिन गरिरहेको संसदीय विशेष समितिलाई सीसीटीभी फुटेज दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ । मन्त्रालयलाई दुईपटक ताकेता गर्दा पनि जेठको सीसीटीभी फुटेज समितिले दिएको छैन ।
तर, असार महिनाको फुटेज भने अर्थ मन्त्रालयले समितिलाई दिएको छ । अर्थ मन्त्रालयका कर्मचारीले समितिलाई जेठको फुटेज भए वा नभएको जवाफसमेत दिएका छैनन् ।
लिखित रूपमा फुटेज भए वा नभएको जानकारी दिन समितिले मन्त्रालयलाई पुनः ताकेता गरेको छ । समितिले बिहीबार दिउँसो २ बजेसम्मको समय दिएर पहिलोपटक फुजेट मागेको थियो ।
समयमा प्राप्त नभएपछि समितिका सदस्यले मन्त्रालयमै स्थलगत रूपमा समेत अनुगमन गरेको थियो । विशेष समितिले आइतबारसम्म अर्थ मन्त्रालयका प्राविधिक, बजेट र प्रशासन महाशाखाका प्रमुख तथा दुई सचिवसँग छलफल गरिसकेको छ ।
समिति सचिव सुरेन्द्र अर्यालका अनुसार अहिलेसम्मका कामकारबाहीको समीक्षापछि नयाँ कार्ययोजना अघि बढाइनेछ । समितिले आइतबार बिहान मन्त्रालयका प्राविधिक र महाशाखा प्रमुखसँग छलफल गरेको हो ।
दिउँसो पुनः समितिले सचिवद्वय मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग घटनाबारे जानकारी लिएको हो । सचिवद्वयसँग समितिले बजेट तर्जुमाका प्रक्रियादेखि जेठ १४ गतेको घटनाबारे प्रश्न गरेको छ ।
बजेटमा करका दर हेरफेरको विषयमा अध्ययन गर्न गठित समितिले मंगलबारदेखि काम सुरु गरेको हो । आज पनि समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ।
बैठकले सोमबार अर्थ मन्त्रालयका सचिवसँग छलफल गरेर निचोड निकाल्ने कार्यतालिका छ। तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
संसदीय छानबिन समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। यतिबेला अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।
तर, समितिलाई जेठ महिनाको सिसिटिभी फुटेज कसको निर्देशनका कारण उपलब्ध नगराइएको हो भन्ने खुलेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।