काठमाडौं । पार्टी विभाजन भएको एक वर्षपछि एमाले अध्यक्ष केपी ओलीले फेरि वाम एकताको गुलियो नारा अघि सारेका छन् । तर त्यसका लागि उनको सर्त छ– निसर्त एमालेको छातामुनि गोलबद्ध हुने ।
शनिबार एउटै मञ्चमा उभिएर ओलीसहितका कम्युनिस्ट नेताहरूले पार्टी एकताको वा वाम गठबन्धनको प्रस्ताव गरेका हुन्।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र पार्टी एकता गरेर नेकपा बनाएका थिए। त्यसको तीन वर्षपछि २०७७ फागुनमा २३ मा सर्वोच्च अदालतल दुवै पार्टीलाई अलगअलग रहन आदेश दिएपछि छुट्टाछुट्टै पार्टीका रूपमा रहेका एमाले र माओवादीका नेताहरूले शनिबार एउटै मञ्च प्रयोग गर्दै पार्टी एकता वा आउदो निर्वाचनमा वाम गठबन्धनको प्रस्ताव गरेका हुन्।
शनिबार नेपाल–चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेका थिए। ओलीभन्दा अघि बोल्ने पालोमा रहेका श्रेष्ठले नेपालमा देशभक्तिपूर्ण आन्दोलनको अझै आवश्यकता रहेको दोहोर्याउँदै सो धारणा राखेका थिए।
तर ओलीले सो विषयमा श्रेष्ठको जवाफ फर्काउँदै विचार नमिल्ने पार्टीमा नबस्दा उपयुक्त हुने आशय व्यक्त गरेका थिए। श्रेष्ठले ओलीलाई संघ र प्रदेशको निर्वाचनमा तालमेल र पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले जवाफको क्रममा विचार नमिल्ने पार्टीमा किन बस्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।
ओलीको प्रस्ट संकेत छ, हिजो रामबहादुर थापा बादल, प्रभु साह, टोपबहादुर रायमाझी जस्तै नारायणकाजी श्रेष्ठलगायतका उनी निकटलाई एमाले प्रवेश गराउने । यसअघि नै नारायणकाजी निकट जीवन गौतम एमाले प्रवेश गरिसकेका छन् । पछिल्लो समय नारायणकाजी माओवादीमा बसेर प्रचण्डलाई घुर्की लगाउन व्यस्त छन् । उनले यसअघि पनि ओलीलाई बालकोटमा गएर भेटिसकेका छन् ।
‘विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू ? विचार मिल्दैन भने पार्टी मिल्दैन, पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि,’ ओलीले श्रेष्ठलाई इंगित गर्दै भनेका थिए। ओली एकता वा गठबन्धन गर्ने भए कांग्रेसको पुच्छर छाडेर आउन आग्रह गरेका थिए। ‘कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न, गठबन्धन छाड्न, एसपिपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु। चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसद्बाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी,’ ओलीले थप प्रश्न गरे।
श्रेष्ठले एक महिनाअघि ओलीसँग भेटघाट गरेर वाम तालमेलको कुरा गरेका थिए। शनिबार पनि वामशक्ति विभाजित हुँदा सबै कम्युनिस्टहरू आपसमा लडेरै सकिने र त्यसले देशभक्तिको आन्दोलन कमजोर बन्दा मुलुक नै सकिने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा ओलीसमक्ष संघ र प्रदेशको निर्वाचनमा तालमेल र एकताको प्रस्ताव राखेका थिए। ‘नेपालमा देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामशक्ति हुन्, विभाजन र चिराचिराको स्थिति छाडिदिने हो भने दुईतिहाइ शक्ति छन्, त्यसैले अब सबै वामशक्ति एकताबद्ध भएर देशभक्तिको आन्दोलन अगाडि बढाउनुपर्छ। तर, एकअर्कालाई सिध्याउने मेसो चलाउँदा हामी आफैं सिद्धिने मेसोतिर त लागिरहेको छौं,’ श्रेष्ठले भने, ‘नेपालको सन्दर्भमा वामपन्थी आन्दोलन कमजोर भए देश सकिन्छ। त्यसैले वाम शक्तिबीच पहिले तालमेल र मोर्चा त्यसपछि अर्को दिशातिर (पार्टी एकतातिर)जानुपर्ने आवश्यकता पनि हुनसक्छ। यसतर्फ गम्भीरतापूर्वक सोचौं।’
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रभु साह, बादल, लेखराज भट्ट, गौरिशंकर चौधरी, मणि थापाको अहिले अवस्था निकै दयनीय छ । उनीहरूले कुनै भूमिका र जिम्मेवारी पाएका छन् । उनीहरूको काम ओलीको कार्यक्रममा जाने र थपडी बजाउने मात्र रहेको देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।