काठमाडौं । नेपाली कांग्रेसको संस्थापनपक्षकै नेताहरुले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन् । सोमबार सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो । कांग्रेसभित्र नेता शेखर कोइराला पक्षले गठबन्धनको विपक्षमा मत राख्दै आएको छ, तर सभापति शेरबहादुर देउवा पक्षकै नेताहरुले पनि गठबन्धनको विपक्षमा मत राखेका हुन् ।
सातै प्रदेशका सभापतिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको बैठकमा बोल्ने क्रममा बलायरले सुदूरपश्चिममा कांग्रेस एक्लै लड्न तयार रहेको बताए । ‘गठबन्धनका अरु दलले आफ्नो शक्ति भन्दा बढी हैसियत खोज्छन् । उनीहरुको शक्ति बढाउन कांग्रेसले गठबन्धन किन गर्ने ?’ डोटीका नेता बलायरले बैठकमा भने ।
नेता बरालले सैद्धान्तिक विचार फरक रहेका शक्तिसँग तालमेल गर्दा कांग्रेसको नैतिक धरातल कमजोर हुने बताए । ‘सैद्धान्तिक रुपमा फरक फरक विचारका छौं । कांग्रेस आफ्नै बलमा पनि लड्न सक्छ । तालमेल गर्नुअघि धेरै विचार पुर्यायौं’ बरालले बैठकमा भने । यस्तै बागमतीका सभापति इन्द्र बानियाँले गठबन्धनमा भन्दा पनि पार्टी भित्रको एकतामा जोड दिनुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।