काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरुको अपमानको रुपमा बुझ्ने समेत चेतावनी दिएको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् ।
‘आजसमम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौं । पुष्पकमल दाहाल प्रचण्डलाई पर्खियौं, तत्काल हाम्रा काम पूरा गर्नुहोस् नयाँ मन्त्री सपथ ग्रहण गराउनुहोस्, अब ढिलो गर्नुभयो भने तपाईहरुले हामीलाई गरेको अपमान हो भन्ने सम्झिन्छौं । तपाईहरुले आन्तरिक तनाव व्यवस्थापन गर्न खोज्दा हाम्रो पार्टीमा खेल्न खोजेको हामीलाई लज्जित गर्न खोजेको जस्तो देखिएको छ’ उनले भने ।
उनले अब मन्त्रीको शपथ ग्रहणमा ढिलाइ नगर्न आग्रह गरिएको पनि बताए । ‘अब ढिलाइ गर्नुभयो भने त्यसपछिको कुरा त्यसपछि गरौंला’ नेता खतिवडाले चेतावनीको शैलीमा भने ।
नेकपा एकीकृत समाजवादीले हाल मन्त्रिपरिषदमा रहेका नेताहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन भए पनि अहिलेसम्म मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।
प्रचार विभाग प्रमुख खतिवडाले एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीको सूचिमा संशोधन हुँदैन नहुने पनि बताए । केही मन्त्रीहरुले मन्त्रीको सूचि हेरफेर गर्नुपर्ने भनी पार्टीमा माग गरेको चर्चा चलेको थियो । उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको पनि बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।