काठमाडौं - केही समययता एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेको छ ।
एमाले छाडेर बसेका वामदेव गौतम पनि त्यो कुराकानीमा संलग्न भएका छन् । गौतम त फेरि पनि नेकपा ब्यूँताउने अभियानमा अघि बढेका छन् । जसका लागि उनले कम्युनिस्ट पार्टी एकताका लागि अभियानको भेला नै बोलाएका छन् ।
स्थानीय तहको निर्वाचनमा दोस्रो स्थानमा झरेपछि एमाले अध्यक्ष केपी ओलीको दम्भसमेत तोडिएको छ । तर लोकलाजका लागि बाहिर बाहिर भने उनले एमाले अझै पनि एक्लै चुनावमा लडेर ठूलो दल बन्दै सरकार बनाउने दाबी गर्न छाडेका छैनन् ।
तर भित्रभित्र भने ओलीले आफ्ना दूतहरूलाई प्रचण्ड र माधव नेपालको निवास पठाउने गरेका छन् । यसको खुलासा ओलीले बिहीबार आफ्ना पार्टीका सांसदहरूलाई गरेका छन् ।
एमालेका राष्ट्रिय सभा सदस्यहरूसँग पार्टी कार्यालय च्यासलमा आयोजित भेलामा ओलीले ०७४ साल दोहोरिन सक्ने खुलासा गरेका हुन् । उनले ०७४ सालमा एकाएक वाम एकता गर्ने सहमति भई पछि एमाले र माओवादीबीच एकता भएको बताउँदै अबको निर्वाचनमा पनि त्यो हुन सक्ने बताए । अहिलेको गठबन्धनलाई जसरी पनि तोड्न वामपन्थी एकता गर्नुपर्ने उनले सुझाए ।
ओलीको यो भनाइले एमाले कतिसम्म गठबन्धनबाट डराएको रहेछ भन्ने स्पष्ट हुन्छ । यदि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच चुनावसम्म गठबन्धन भए एमालेलाई दिउँसै टर्चलाइट बालेर खोज्नुपर्ने अवस्था आउने देखिन्छ ।
किनभने स्थानीय तहको निर्वाचन जस्तो हुन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन । त्यहाँ पार्टी नै पहिलो प्राथमिकतामा पर्छ । सरकारसमेत सोही निर्वाचनबाट बन्ने भएकाले पनि प्रतिनिधिसभामा ठूलो दल बन्न सबै लागिपरेका हुन्छ ।
त्यसकै लागि पनि ओली अहिलेदेखि नै गठबन्धन टुटाउन षड्यन्त्रमा लागेको देखिएको छ । ओलीले माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग आफैंले पनि गुप्त रूपमा छलफल गरिरहेको बालकोट निकट स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।