काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट पदच्यूत भएको एक वर्ष पुग्दैछ । दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशबाट सरकार चलाउने, संवैधानिक अंगहरूमा आसेपासे भर्ती गर्न थालेपछि उनकै पार्टीका नेताहरूले ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएका हुन् ।
बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेपछि ओली दुई तीन महिना त बाहिर नै निस्कन सकेनन् । त्यसपछि विस्तारै उनी पार्टीको गतिविधिमा केन्द्रित हुन थाले । दशैंतिहारपछि विभिन्न दलको महाधिवेशन भयो । महाधिवेशनमा ओली र अन्य दलका नेताहरूबीच हल्का र सामान्य कुराकानी भयो ।
तर, गहन रूपमा कहिल्यै छलफल र कुराकानी भएन । अधिकांश समय उनी बालकोटस्थित घरमै रमाउन थाले । ओली केही न केही उट्पट्याङ गरेर सधैं चर्चामा आइरहने नेता हुन् ।
आफ्नै हठ र दम्भका कारण पछिल्लो समय उनको लोकप्रियतामा ह्रास आउँदै गएको छ । स्थानीय तहको निर्वाचनमा पनि एमाले दोस्रो स्थानमा खुम्चिन पुग्यो ।
अहिले उनी प्रतिनिधिसभामा एमाले नै ठूलो दल हुन्छ भनेर कुर्लिरहेका छन् । तर राजनीतिक सिनारियो उनले भने जस्तो देखिएको छैन। अहिले कांग्रेस नेतृत्वमा सरकार छ । सरकारले पनि महत्वपूर्ण विषयमा एमालेसँग छलफल गर्न चाहेको छैन ।
खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हठका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग संवाद गर्न चाहेका छैनन् ।
त्यही भएर केपी ओलीले अहिले चित्त दुःखाएका छन् । एक वर्षसम्म कसैले भ्यालू नदिएपछि उनको मन मरेको छ । ओलीले गठबन्धन सरकारले प्रतिपक्षसँग संवादहीनताको स्थिति सिर्जना गरेको आरोप लगाएका छन् ।
नेपालको परराष्ट्र नीति र राष्ट्रिय एकताका विषयमा ०४६ सालपछिकै धेरै संवादहीनताको स्थिति देखा परेको र यस्तो कार्यशैली धेरै गम्भीर चिन्ताको विषय बनेको ओलीको भनाइ छ ।
मंगलबार पूर्वराजदूत समूहहरूसँगको अन्तरक्रियामा ओलीले राष्ट्रिय शक्तिहरूबीच वैदेशिक नीतिका सम्बन्धमा बलियो राष्ट्रिय एकताको आवश्यकता देखिए पनि अहिलेको गठबन्धन सरकारले एकतालाई निषेध गर्ने नीति लिएको आरोप लगाए । ‘हामीले स्वस्थ प्रतिस्पर्धासहितको बहुदलीय शासन प्रणाली ल्यायौँ, निषेध गर्ने नीति होइन । तर, अहिले राष्ट्रिय शक्तिहरूबीच ०४६ सालपछिकै संवादहीनाको स्थिति देखिएको छ,’ ओलीले भने, ‘अहिले सरकारले सबै कुरा गोप्य राख्ने र प्रतिपक्षविरुद्ध लाग्ने गरेको छ । यो लोकतान्त्रिक व्यवहार हुनै सक्दैन ।
दुःखको कुरा गठबन्धन सरकार आएपछि संवाद बन्द छ ।’ प्रधानमन्त्री विदेश भ्रमणमा जाने तय भएपछि प्रतिपक्षसँग संवाद गर्ने, विज्ञसँग छलफल गर्ने, भ्रमणको उद्देश्य प्रस्ट्याउने, के गर्ने या नगर्ने सुझाव लिने अभ्यास र परम्परालाई पनि गठबन्धन सरकारले तोडेको ओलीको आरोप छ ।
उनले नेपालले छिमेक सम्बन्धमा एकले अर्कालाई कार्डका रूपमा प्रयोग गर्ने वैदेशिक नीति अवलम्बन गर्न नहुनेमा जोड दिए । सत्तापक्ष र प्रतिपक्षबीच हरेकजसो मुद्दामा आरोप–प्रत्यारोप छ ।
त्यही कारण पनि कांग्रेस नेताहरूसमेत एमालेका नेतासँग कुराकानी गर्न चाहिरहेका छैनन् । गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्काबाहेक अन्य मन्त्रीले ओलीसँग भेटसमेत गर्न चाहेका छैनन् । ओली प्रमुख प्रतिपक्षी दलका नेता हुन् । तर, व्यवहारमा उनले आफूलाई विपक्षी दलको नेता जस्तो देखाउन सकेका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।