काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु प्रेम आले र किसान श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई संघीय र प्रदेशको चुनावको मिति घोषणा गर्न सुझाव दिएका छन्।
श्रेष्ठ र आले लगायत मन्त्रीहरुले देउवासँग भेटेरै चुनावी मिति घोषणा गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ। ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणलगत्तै चुनावी मिति घोषणा गर्नुपर्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘चुनाव घोषणा भइसकेपछि मन्त्री फेरबदल हुँदैन। प्रधानमन्त्रीसमक्ष चुनाव छिटो घोषणा गर्न सुझाव दिइएको छ।’
तर तत्कालै भने बजेटमाथि संसदमा छलफल भइरहेको भन्दै मन्त्री फेरबदल गर्न रोकिएको छ। एकीकृत समाजवादीको आइतबार बसेको सचिवालयको बैठकले ४ मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।
पार्टीको त्यही निर्णयअनुसार मन्त्री बन्ने चारजनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ। तर, समाजवादीका मन्त्रीहरुकै कारण नयाँ मन्त्रीहरुको शपथ भएको छैन।
प्रधानमन्त्रीले समय मागेपछि शपथ रोकिएको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। मन्त्री पद जोगाउने गरी उनीहरुले चुनावको मिति घोषणा गर्न प्रस्ताव गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।