काठमाडौं - स्थानीय निर्वाचनमा सोचेभन्दा नतिजा फरक आएसँगै अहिले फेरि एमाले नेताहरू वाम एकता वा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयासमा लागेका छन् । त्यसका लागि एमालेका दोस्रो तहका नेताहरूको दौडधूप बाक्लिएको छ ।
आगामी मंसिरभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि एमाले नेताहरू माधवकुमार नेपाल निकट नेताहरूसँग भेटघाटमा लागेका हुन् । एमाले नेताहरूले माधव नेपाल वा झलनाथ खनाललाई प्रधानमन्त्रीको चारो पनि फ्याँकेका छन् ।
तर, माधव पक्षले त्यसलाई खासै वास्ता गरेको छैन । कतिसम्म भने एमालेसँग एकता गर्न माधव र झलनाथमध्ये एकलाई दोस्रो अध्यक्ष र एकजनालाई वरिष्ठ नेता दिन सकिने प्रस्ताव पनि पठाइएको बुझिएको छ ।
एकीकृत समाजवादीका नेताहरूले एमाले अध्यक्षका रुपमा ओलीको वहिगर्मन, ०७७ पुस ५ र ०७८ जेठ ८ को संसद विघटनको आत्मालोचना र नेतृत्वमा दुबै पक्षका दोस्रो तहका नेताहरू समान व्यवस्थापनलाई बटमलाइन बनाएको छ ।
तर, अध्यक्ष ओली स्वयं यीमध्ये कुनै पनि विकल्पमा छलफल गर्न तयार देखिएका छैनन् । ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एकलाई दोस्रो हैसियतको अध्यक्ष र अर्कोलाई वरिष्ठ नेताको हैसियत दिइने सन्देश पठाएका थिए ।
उक्त सन्देशलाई दुवै नेताले अस्वीकार गरिसकेका छन् । सके सिंगो एकीकृत समाजवादीसँग एकता गर्ने, नसके एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूलाई एमालेमा फर्काउने रणनीति अघि बढेको छ ।
यसका लागि अहिले मन्त्रीबाट फिर्ता बोलाइएका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आलेसँग एमाले नेताहरूले पटक पटक कुराकानी गरेको स्रोतले बतायो ।
हिजो माधव नेपाललाई धोका दिने १० भाइकै मोडेलमा यसपटक पनि दोस्रो तहका नेताहरूलाई एमालेमा फर्काउने अभियान तीव्र रूपमा अघि बढेको एक नेताले बताए ।
एमाले स्रोतका अनुसार सिंगो एकीकृत समाजवादीसँग एकता हुन नसक्दा पनि उक्त पार्टीभित्रको एउटा पंक्तिलाई एमालेमा फर्काउने रणनीति तय भएको छ ।
गत वर्ष १० बुँदे सहमतिका नाममा माधवकुमार नेपाललाई साथ दिएका दोस्रो तहका मुख्य–मुख्य नेताहरू एमालेमा फर्किएझैँ अहिले पनि एकताका विभिन्न मोडेल अगाडि सार्ने र त्यसबाट सम्पूर्ण पार्टी एकतामा गएन भने पनि उक्त मोडेलका पक्षधरमध्ये केही नेतालाई एमालेमा फर्काउनुपर्छ भन्ने मान्यता विकास भएको छ ।
स्रोतका अनुसार यो कामका लागि ओलीले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलाई परिचालित गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।