काठमाडौं - स्थानीय निर्वाचनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री परिवर्तन हुने घोषणा गरेका थिए ।
तर, प्रचण्डले घोषणा गरेको अहिलेसम्म पूरा भएन । बरु तिनै शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । अहिले बजेटमाथि संसदमा छलफल जारी छ । बजेट पास नभइकन अर्थमन्त्री फेर्नु उचित पनि हुन्न ।
तर एकीकृत समाजवादीले एकाएक आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री सिफारिस गरेपछि नेपालको राजनीति एकाएक तरंगित भएको छ । सो पार्टीको निर्णयले गठबन्धन दलमै खटपट देखिएको छ ।
जसपा, कांग्रेससँगै माओवादी केन्द्रमा पनि यसले हलचल मच्चाएको छ । माओवादीभित्र मन्त्रीका आकांक्षीहरुको संख्या ठूलो छ । खासगरी मन्त्रीका आकांक्षीहरुको संख्यासँगै शक्ति संघर्षले पनि माओवादीभित्र लफडा निकालेको छ ।
पहिला मन्त्री हुन खोजेका तर नपाएका सुदन किराँती, सुरेश राई, गजेन्द्रबहादुर महतहरुलाई मन्त्रिपरिषद् हेरफेर हुँदा पार्नैपर्ने हुन्छ । वर्षमान पुनसहितको एउटा टोली अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनुपर्ने पक्षमा देखिएको छ ।
यसले माओवादीभित्र पनि शक्तिसंघर्ष चरम रुपमा रहेको अनुमान गर्न सकिन्छ । शर्मा र पुन माओवादीका महासचिवका दाबेदार हुन् । तर अहिलेसम्म प्रचण्डले पदाधिकारी मनोनयन गर्न सकेका छैनन् ।
एकलौटी पार्टी सञ्चालन गर्दै आएका छन् । तलका नेताहरूलाई जुधाएर आफू मनपरी पार्टी सञ्चालन गर्ने प्रचण्डको पुरानै बानी हो । यो अहिले पनि जारी छ ।
यदि अहिले अर्थमन्त्री शर्मालाई प्रचण्डले हेरफेर वा फिर्ता गरेनन् भने आगामी दिनमा उनलाई वर्षमान पुन पक्षले अप्ठेरोमा पार्ने संकेत देखिसकेको छ । किनभने शर्मा अर्थमन्त्रीका रूपमा इतिहासकै कमजोर देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।