काठमाडौं - नेपाल टेलिभिजन स्थापनाको झन्डै एक दशकपछि २०५२ सालताका क्यामेरासम्बन्धी सामान्य तालिम लिई भारतबाट नेपाल फर्केका थिए मधुर बस्नेत । आज उनी नेपाली गीतसंगीतको म्युजिक भिडियो निर्माणमा एउटा गर्विलो नाम भएको छ ।
काठमाडौं महाराजगञ्जका मधुरको प्रारम्भिक शिक्षा भारतको सिलोङमा भएको थियो । उनले दार्जिलिङको सेन्ट जोसेफ कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए ।
कलेज पढ्दापढ्दै फिल्म क्षेत्रमा आकर्षित भएकाले उनी क्यामेरासम्बन्धी ज्ञान हासिल गरेर नेपाल फर्किएका थिए । २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि रेडियोमा सुनिने गीत टेलिभिजनमा पनि देखिन थाले ।
विस्तार विस्तार टेलिभिजनको पहुच सर्वसाधारणसम्म पुग्न थालेसँगै अन्य टेलिभिजन च्यानल पनि सञ्चालनमा आउन थाले, फलत नेपाली गीत संगीतको भिडियो निर्माणसँगै टेलिभिजन कार्यक्रम पनि निर्माण हुन थाले ।
नेपाली टेलिभिजनका लागि कार्यक्रम निर्माणमा जुटिरहेका उज्ज्वल केसी, विनोद शर्मा, गोपाल बास्कोटालगायतसँग भेट भएपछि २०५२ सालतिरै वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगार, सूचना र समाचार कार्यक्रम निर्माण गर्न थाले । लगभग ५२ एपिसोड छायाँकन एवं प्रसारण गरेपछि डकुमेन्ट्री, विज्ञापनको क्षेत्रमा हात हाले ।
बाबुराजा केसी (उज्ज्वल) र गोपाल बास्कोटासँग मिलेर उनले २०५४ सालमा डिल्लीबजारमा कृष्ण फिल्मस नाम कम्पनी सञ्चालन गरे । संघर्षका ती दिन सम्झँदै मधुर बस्नेत भन्छन्, ‘कार्यालय खोलिहालियो । एक फ्ल्याटको सात हजार भाडा तिर्नुपर्ने । काम खासै छैन, के गर्ने के गर्ने भएपछि दोहोरी गीतको भिडियो बनाउ भनेर सल्लाह गयौं। मार्केटिङ गर्न म्युजिक कम्पनीतिर धाउन थाल्यौं । धेरै धाए पछि भर्खर भर्खर सुरु भएको धौलागिरी क्यासेट सेन्टरले तीन हजार दिएर भिडियो निर्माण गर्न दियो । त्यो दिन हामी जति खुसी कोही थिएन होला ।’
भिडियो बनाएपछि कहाँ लगेर देखाउने भन्ने समस्या देखिएको उनले बताए । ‘नेपाल टेलिभिजनमा कुरा राख्यौं । त्यो बेला बिहान ७ बजेको समाचार सकिएपछिको पाँच मिनेटको समय किनेर एक–एक मिनेटको प्रोमो देखाएपछि त व्यापक भयो ।’
समय कसैको साथमा नहुने रहेछ भन्दै उनले भने, '२०६४ सालमा अति मिलनसार, सहयोगी, कृष्ण फिल्मसका संचालक साथी गोपाल बास्कोटाको असमाहिक निधनले आज परर्यन्त पनि मन पोलीरहन्छ ।’
ठूलो पर्दाका जादूगर २, जेसुकै होस्, नैना रेशम, टेलिचलचित्र चेली, शक्तिलगायत विभिन्न हेरिटेज वृत्तचित्र, विज्ञापन, सुुसेली, लोकसुसेली, लोकभाका टेलिभिजन कार्यक्रमलगायत झन्डै आठ हजारभन्दा बढी म्युजिक भिडियोमा क्यामेरा चलाइसकेका छन् मधुर बस्नेतले । उनी क्यामेरा मात्र चलाउँदैनन्, निर्देशन पनि गर्छन् ।
गीतमा मोडलिङ गर्छन् । भरिया दाइ, मोहनी बोलीमा, मायाले मार्यो, कालीपारे दाइलगायत धेरै गीतमा उनले मोडलिङ गरेका छन् ।
टेली अवार्ड २०६८ मा सर्वोत्कृट म्युजिक भिडियो निर्देशकको अवार्ड पाइसकेका मधुर बस्नेतले विभिन्न पुरस्कार तथा सम्मान पाइसकेका छन् । १२औं विन्ध्यावासिनी अवार्ड २०७८ मा उनले सर्वोत्कृष्ट क्यमरा पर्सनको अवार्ड प्राप्त गरेका थिए ।




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।