रसुवा - उम्मेदवारी दर्ता गरेको भोलिपल्टै एमालेलाई ठूलो झड्का लागेको छ । निर्वाचन कार्यालयले एमालेबाट रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारी दिएका दुईजनाको उम्मेदवारी रद्द गरेपछि बालकोटमा तरंग सिर्जना भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दिइएको दुईजनाको उम्मेदवारी रद्द भएको हो ।
आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलका अनुसार एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गरेका थिए । उनी समानुपातिकको बन्दसूचीमा थिए ।
समानुपातिकको बन्दसूचीमा रहेको व्यक्ति स्थानीय तहको कुनै पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ । तेब्रल तामाङको उम्मेदवारी नहुने भएसँगै लगत्तै एमालेबाटै गाउँपालिका अध्यक्षमा फुर्पूसिंगी तामाङले मनोनयन दर्ता गराए ।
एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुईवटा उम्मेदवार पेस भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको गाउँपालिका प्रमुखका उम्मेदवार फुर्पूसिंगी तामाङको उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृत लुइटेलले जारी गरेको सूचनामा उल्लेख छ ।
‘एमालेले नै एउटै पदमा दुईवटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एकजनाको त समानुपातिकको बन्दसूचीमा छ,’ लुइँटेलले भने, ‘दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशनबमोजिम अघि बढ्छौँ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।