काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा एकपछि अर्को विवादमा परेका छन् । अमेरिकाबाट आउन लागेको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन उनले नेपाल राष्ट्र बैंकसँग जानकारी मागे ।
तर, आफूलाई असहयोग गरेको भन्दै उनले गभर्नर महाप्रसाद अधिकारीलाई नै निलम्बन गरे । कालोधन सेतो पार्न शर्माले चलखेल गरेको सबैले देखेका छन् ।
अमेरिकाबाट ४० करोड रुपैयाँ ल्याउन खोज्ने अछामका पृथ्वी शाह हुन् । उनीसँग अर्थमन्त्रीको विशेष सम्बन्ध रहेको यो घटनाले पुष्टि गरेको छ । शर्माले शाह सोझासिधा मान्छे भएको जिकिर गर्दै आएका छन् ।
तर, शाह अवैध भारु तस्कर भएको खुलासा भएको छ । चार वर्षअघि चुनावको समयमा उनी अवैध दुई करोड भारुसहित पक्राउ परेको खुलेको छ । उनी सुरक्षा संगठन निर्वाचन सुरक्षामा केन्द्रीत भएको मौका छोपेर प्रतिबन्धित एक हजार र पाँच सयको भारतीय रुपैंया नेपाल भित्र्याउन सक्रिय भएको पाइएको छ ।
हजार र पाँच सयको दुई करोड १४ लाखको नोटसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट ३ जेठ २०७४ मा १५ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको थियो ।
ब्युरोका अनुसार पक्राउ गिरोहले अवैध तरिकाले आर्जन गर्न ती रुपैयाँ भारतबाट नेपाल ल्याएर अवैध रुपमा कारोबार गर्ने गरेका थिए । ब्युरोका अनुसार अवैध भारुको कारोबारमा संलग्न अभियोगमा कमला भण्डारी, मोरङका दिलीपकुमार लाल, मेघबहादुर थापा, काठमाडौंका सानुराजा रंजित र राजकुमार गिरी पक्राउ परेका थिए ।
त्यस्तै, भारतीय नागरिक अङ्कुर अग्रवाल, दिनेश अग्रवाल र अनिलकुमार पन्साली, मोरङका सुरेन्द्रकुमार संघाई, नवलपरासीका सञ्जयकुमार चौधरी, कास्कीका नवराज गुरुङ, अछामका पृथ्वी शाह, काठमाडौंका मजेन लामा, अमिरुद्दीन र पूर्ण बासी गुप्ता पक्राउ परेका हुन् । शाह तिनै व्यक्ति भएको प्रहरी स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।