काठमाडौं - केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चाबीच गठबन्धन बनेको छ । त्यही गठबन्धनले आगामी ३० वैशाख हुन लागेको पालिकाहरूको निर्वाचनमा गठबन्धन कायमै राखेर जान अहिले प्रदेश, जिल्ला र पालिका स्तरमा छलफल भइरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोक राई र जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ ।
कैलाली जिल्लामा हुने गठबन्धनका बारेमा २७ चैतमा गठबन्धनबीच छलफल भए पनि सहमति बनिसकेको छैन । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ ।
सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो । शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे छलफल गरेका हुन् ।
संघीय सरकारमा गठबन्धनमा आबद्ध दलहरूले सुदूरपश्चिम प्रदेशमा आफूहरूलाई नटेरेपछि जिल्लामा अन्य शक्तिहरूसँग छलफल सुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले बताए ।
‘उहाँहरू (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) ले हामीलाई सुदूरपश्चिम सरकारमा सहभागी गराउने विषयमा कुनै छलफल गर्नु भएको छैन,’ अध्यक्ष कुश्मीले भने, ‘सत्ताका बारेमा छलफल नगर्नेसँग चुनावका बारेमा मात्र गठबन्धन गरिराख्न आवश्यक भएन, त्यसैले हामीले अरुसँग पनि छलफल सुरु गरेका छौं ।’
जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्द र घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो ।
छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफललाई अघि बढाउने सहमति भएको छ । एमालेका साथीहरूले जिल्लामा सम्मानजनक सहभागिताका आधारमा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भयो,’ अध्यक्ष कुश्मीले भने, ‘सम्मानजनक रूपमा सीट बाँडफाँट गरेर जाने कुरामा हाम्रो पनि सहमति छ ।’ एमालेसँग थप छलफल गरेर चाँडै टुँगोमा पुग्ने अध्यक्ष कुश्मीले बताए ।
एमाले निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्दले जसपासँग गठबन्धनको सम्भावनका बारेमा गरिएको छलफल सकारात्मक रहेको बताए।
‘एक चरणको छलफल सकारात्मक बनेको छ,’ चन्दले भने, ‘आगामी दिनमा थप छलफल गरेर तालमेलको विषयलाई टुंगोमा पुर्याइने छ ।’ सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराएपछि जसपा गठबन्धनप्रति रुष्ट बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।