काठमाडौँ- भारतकी प्रख्यात गायिका लता मंगेशकरको गत आइतबार बिहान निधन भएपछि उनी हामीमाझ अब सम्झनाको रुपमा मात्र रहेकी छन् ।
लताको भौतिक शरीर अब रहेन, तर उनको स्वर अहिले पनि लाखौं–करोडौं संगीतप्रेमीको कानमा गुन्जिरहेको छ। लतालाई प्रधानमन्त्री, राष्ट्रिपति र नेपाली कलाकार तथा सांगीतिक क्षेत्रका अन्य स्रष्टाहरुले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीट गर्दै थुप्रै लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले आफू दुःखी भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
प्रधानमन्त्री देउवाले दिवंगत मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन्।
राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन्, ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली।’
त्यसैगरी कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा लेख्छन्, ‘संसारमा मानिसलाई झुक्याउने जादूगर धेरै होलान् तर आफ्नो कलाले मन्त्रमुग्ध पार्ने जादूगर कमै छन्। उनै जादूगरमध्येकी एक जादूगर साँच्चिकै सरस्वतीको वरदान गायिका लता मंगेशकर सरस्वती पूजाकै दिन यस संसारबाट महाप्रस्थान गर्नुभएको छ। उहाँका गीत र आवाजहरुसँग मेरो बाल्यकालका मीठा सम्झनाहरु गाँसिएका छन्।’
त्यस्तै नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ लेख्छन्, ‘सरस्वतीकी वरदान लता दिदीलाई बिदाइ।’ गायक शिव परियारले पनि लता मंगेशकरलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्, ‘यस जगतकी एक शाश्वत स्वरले आज ९२ वर्षको उमेरमा श्रीपण्चमीका दिन सशरीर महाप्रस्थान लिनुभएको छ।’
त्यसैगरी गायक राजेशपायल राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पुज्ने, संगीत भन्नेबित्तिकै मेरो मनमा झट्ट आउने नाम, संगीतको अर्को नाम लता दिदीज्यूले समाधि लिनुभएकोले आज मेरो हुने रेकर्डिङ, सुटिङ र गीत रिलिज हुने छैन।’
त्यस्तै लताको निधनपछि संगीतकार शम्भुजित बाँस्कोटा उनीसँग बिताएको एक घण्टा स्मरण गरेका छन्। बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिदीसँगको त्यो एक घण्टा मैले बिताएको क्षण र नेपाली गीत संगीतप्रतिको दिदीको त्यो श्रद्धा र मायाप्रेम सधैभरि अटल अमर रहनेछ। लता दिदीले आफ्नै क्यामराबाट खिच्न लगाएको यो तस्बिर सधैंसधैं भर आशिर्वाद र प्रसाद भइरहनेछ।’
अब्बल र जादूमयी कोकिल आवाजकी धनी लताले असाधारण सांगीतिक यात्राका क्रममा ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइन्। भारतको मध्य प्रदेशस्थित इन्दोर सहरमा सन् १९२९ सेप्टेम्बर २९ का दिन जन्मिएकी लताले पाँच वर्षको उमेरदेखि बुवा दिननाथ मंगेशकरबाट सांगीतिक यात्रा सुरु गरेकी थिइन्। लताले लताले नेपालको सांगीतिक क्षेत्रलाई समेत योगदान दिएकी छिन्।
निरन्तरको साधना, तपस्या, लगन र अनुशासनले आवाजको दुनियाँमा एक युग रचेर लताले नेपाली सांगीतिक उद्योगलाई पनि गुन लगाएको नेपाली कलाकार तथा सांगीतिककारहरु बताउँछन् । नेपालको पहिलो चलचित्र ‘माइतीघर’का दुई गीतमा स्वर दिएकी छन् उनले। निजी क्षेत्रबाट निर्माण गरिएको ’माइतीघर’मा भारतीय कलाकार माला सिन्हाले अभिनय गरेकी थिइन्। यही फिल्मका गीतमा लता र आशा भोश्लेले स्वर दिएका थिए। राजा महेन्द्रले लेखेको गीत ‘जुन माटोमा मेरो’, र ‘आकाशमा तिरमिरे तारा’ जस्ता गीतमा लताले स्वर दिएकी छन्।
संगीत गरेका थिए जयदेवले। लतालाई जयदेवको संगीतमा तयार भएको ‘जुन माटोमा मेरो’ बोलको गीत गाउन गाह्रो लागेको थियो। रामकृष्ण ढकालसँग गाएको ‘बाँचुन्जेलीलाई’ लताले गाएको अन्तिम नेपाली गीत बन्यो। खेलमा क्रिकेट र पढ्नमा उपन्यास मन पराउने मंगेशकरले जीवनमा महान् संगीतकारहरुसँग काम गरिन्। उनको आवाज बिनाको गीत नै बन्दैनजस्तो थियो साठीको दशकपछि। बाँचुन्जेल उनले विश्व सांगीतिक दुनियाँलाई आफ्नो आवाज दिइरहिन्।
सन् १९६० देखि २००० भित्र बनेका चलचित्रका गीतमा उनको आवाज अनिवार्यजस्तै थियो। उनको आवाज बिनाको फिल्मी गीत अधुरो र अपुरो लाग्थ्यो। उनका आवाज सुनेर भारतीय पूर्व प्रधानमन्त्री जवहारलाल नेहरु रोएका थिए। सन् १९६३ जनवरी २७ का दिन लताले कवि प्रदीपले लेखेको गीत ‘ए मेरे वतन के लोगों’ गाउँदा नेहरु रोएका हुन्।
गीत गाइसकेर लतालाई नेहरुसँग भेट गराइयो। नेहरुले लतालाई धाप दिँदै भनेका थिए– धेरै राम्रो। यिनले मेरो आँखामा आँसु ल्याइदिइन्।’ सन् १९६४ मा नेहरु मुम्बई गएका बेला लताले ‘आरजू’ फिल्मको ‘अजी हमसे रुठकर कहाँ जाइएगा’ गाएकी थिइन्। त्यतिखेर पनि नेहरुले उनलाई ‘ए मेरे वतनके लोगों’ गाउन लगाएका थिए।
लताको सांगीतिक यात्राको पखेटा ‘बरसात’ फिल्मबाट लाग्यो। सन् १९४९ तिर राज कपूर र नरगिस अभिनित फिल्म बरसात आएपछि उनले पछाडि फर्किएर हेर्नु परेन। लता मंगेशकरका बारेमा संगीतकार मदन मोहनले भनेका थिए, ‘१९५६ मा मेट्रोमर्फीको तर्फबाट संगीतकारलाई राम्रो गाउने ‘ट्यालेन्ट’ भारतभरि खोजियो। लता मंगेशकरसँग प्रतिस्पर्धा गर्न सक्ने कोही पनि भेटेनौं। हाम्रो सौभाग्य हाम्रो जमानामा अवतरित भइन्।’
सन् १९५० मा उनले गाएको ‘आएगा आने वाला’ गीत अल इन्डिया रेडियोमा बज्न पाएन किनकि त्यतिखेर अल इन्डिया रेडियोले फिल्मी गीत बजाउँदैनथ्यो। त्यो समय रेडियो सिलोन पनि थिएन।
पछि भारतीयले पहिलोपटक रेडियो गोवाबाट लताको स्वर सुनेका थिए। गोवा त्यो समय पोर्चुगलको कब्जामा थियो। साठीको दशकमा सबैभन्दा बढी मोहम्मद रफीसँग लताले युगल गीत गाइन्। चार वर्षसम्म त रफीसँग निरन्तर गीत गाइन् उनले। आर डी बर्मनका पिता सचिनदेव बर्मन पनि लताको आवाजको प्रशंसक थिए।
सयौं सदावहार गीत गाएकी लताको अन्तिम गीत भने सन् २०१५ मा रेकर्ड भएको थियो। १३ वर्षको उमेरदेखि नै गाउन गालेकी लताका तीन बहिनी आशा भोश्ले, उषा मंगेशकर र मीना मंगेशकर तथा भाइ हृदयनाथ मंगेशकर बलिउड सांगीतिक क्षेत्रमै सक्रिय छन्। लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् ।
लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो । कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे । तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।
लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग अन्तरक्रिया त गर्थिन्, तर कोरोना कहर सुरु भएपछि उनी घरभित्र आराम गरिरहेकी थिइन् ।
उनको घरमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि लतालाई ८ तारिखमा महामारीले छोएको थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । तर अन्तमा चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएपछि उनी हामीमाझ अब सम्झनाको रुपमा मात्रै रहेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।