काठमाडौं - पार्टीको १४औं महाधिवेशन सकिएको दुई महिनापछि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एक्कासि राजनीतिक सक्रियता बढाएका छन् ।
सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि केही समय मौन बसेका शेखरको पछिल्लो सक्रियताले नेपालको राजनीति तरंगित बनाएको छ । शेखरले मंगलबार दुई घन्टा बढी एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोटमा भेटवार्ता गरे ।
ओलीले धेरै समयअघिदेखि उनलाई भेट्न चाहेका थिए । सोहीअनुसार मंगलबार साँझ लामो भेटवार्ता भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
भेटवार्तामा दुई नेताबीच एमसिसी, स्थानीय तहको निर्वाचन, पाँचदलीय गठबन्धनलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।
आफ्नै पार्टी सभापति देउवासँग नभेटेका शेखर बिहीबार बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले नेपालको राजनीति दुई ध्रुवमा विभाजित गरेको छ ।
सत्तारुढ दल कांग्रेस र माओवादीले फरक फरक धारणा राखेका छन् । प्रचण्डले संशोधनसहित एमसिसी अनुमोदन गर्न नहुने अडान राखेका छन् ।
सत्तारुढ दलमा एमसिसीबारे सहमति नजुटेका बेला कांग्रेस नेता शेखरको यो राजनीतिक मुभलाई लिएर अनेक टीकाटिप्पणी हुन थालेको छ । एमसिसीबारे कांग्रेसमा एकमत रहे पनि शेखरले किन इतर दलका शीर्ष नेतासँग भेटघाट तीव्र पारेका छन् ? भन्ने विषयले राजनीति तातेको हो ।
शेखर कोइरालले आजभोलि नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने बुझिएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मात्रै शीर्ष नेतासँग छलफल र संवाद गरेका बेला शेखर कोइरालाले बढाएको राजनीतिक सक्रियताले कांग्रेसमा उनी इतर समूहको मुख्य नेता बन्न लागेको संकेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।