काठमाडौं - नेपालको राजनीतिमा कहिले के हुन्छ कसैले अनुमान गर्न सक्दैन । हिजोसम्म हाई हाई भएका नेता भोलि गएर गुमनाम हुन्छ ।
कसैले सुन्दै नसुनेको नेता रातारात हिट हुन्छ र आफैं हराउँछ । यस्तै उदाहरण बनेका छन् ऋषि कट्टेल । अघिल्लो वर्ष उनी निकै चर्चामा आएका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलको नाम एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिएर आउँथ्यो ।
जब ओली र प्रचण्ड मिलेर दुई पार्टी एक गरी नेपाल कम्युनिस्ट पार्टी नाम राखे, तब ऋषि कट्टेलको चर्चा सुरु भएको हो । आफ्नो पार्टीको नामसँग मिल्ने गरी ओली र प्रचण्डले पार्टीको नाम निर्वाचन आयोगमा दर्ता गरेको र आयोगले पनि सोही नामलाई स्वीकृति दिएको भन्दै उनी सर्वोच्च अदालत पुगे ।
सर्वोच्चले पनि गत फागुन २३ मा एमाले र माओवादी केन्द्रको एकता खारेज गरी नेकपा नाम दिएन । त्यसपछि नेकपा कट्टेलकै रह्यो । अहिले तिनै कट्टेल पार्टीबाट निष्कासनमा परेका छन् ।
पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले कट्टेललाई साधारण सदस्यसमेत नरहने पार्टीबाट निकालिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधानविपरीत कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले यही माघ ५ गते जाँचबुझ समिति गठन गरी अध्यक्ष कट्टेलसँग स्पष्टीकरण मागेको थियो। तर उनले स्पष्टीकरण दिएनन् । त्यसपछि पार्टीले उनलाई कारबाही गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।