काठमाडौं - संक्रामक रोग ऐन २०२० अनुसार महामारीका बेला राज्यले जारी गरेको नियम र आदेश उल्लंघन गर्न पाइँदैन । राज्यका हरेक कानुन र नियम मान्नु नागरिकको कर्तव्य हो ।
झन् महामारीका बेला त हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । तर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले भने महामारीलाई नै मजाक बनाएका छन् ।
कोभिड महामारी सुरु भएदेखि यसलाई सामान्य ठान्दै आएका ओली अहिले कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । उनको अवस्था सामान्य छ । गत शनिबार मात्र उनलाई कोरोना पुष्टि भएको थियो ।
आइसोलेसनमा बसेका उनको रिपोर्ट नेगेटिभ आएको छैन । तर रिपोर्ट नेगेटिभ नआइकन ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
बिहीबार एमाले निकट युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ओलीलाई सहभागी गराइएको हो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली रिपोर्ट नेगेटिभ नआई सार्वजनिक कार्यक्रममा सहभागी भएर सामाजिक अपराध गरेको भन्दै अहिले उनको आलोचना हुन थालेको छ ।
आफैं कानुन बनाउने ठाउँमा पुगेका ओलीले आफ्नो कदमले समाज कतातिर जान्छ भन्ने नसोचेको भन्दै उनको कडा आलोचना भइरहेको छ ।
सर्वसाधारण नागरिकलाई संक्रामक रोग लिएर सार्वजनिक स्थानमा हिँड्दा कानुन लाग्छ तर दुईपटक प्रधानमन्त्री भइसकेका र प्रमुख प्रतिपक्ष दलका नेताले कोरोना बोकेर यसरी हिँड्दा के हुन्छ भन्दै उनीमाथि प्रश्न उठेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त ओलीको हर्कतलाई गैरजिम्मेवारीको पराकाष्टा भनेका छन् । ‘संक्रमण पुस्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो ।
पालना नगर्नु बहादुरी होइन गैह्रजिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो,’ शर्माले शुक्रबार बिहान ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।