काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि स्थानीय तहको निर्वाचनको मिति तोक्न चौतर्फी दबाब बढाउँदै लगेका छन् ।
सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको मिति तोक्न ढिलाइ गरिरहेका बेला ओलीले प्रधानमन्त्रीमाथि दबाब बढाउँदै लगेका हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियामार्फत ओलीले स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न दबाब बढाएका थिए ।
सोहीअनुसार निर्वाचन आयोगले वैशाखमै मिति तोक्न सरकारलाई सुझाव दिएको थियो । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा बोलाएर ‘संविधानले भनेकै समयमा’ स्थानीय तहको निर्वाचन गर्न ‘सुझाव’ दिएकी छन् ।
राष्ट्रपतिको यो ‘सुझाव’ लाई प्रधानमन्त्री देउवा र समग्र राजनीतिक वृत्तले भने सरकारमाथि शीतलनिवासको ‘दबाब’ का रुपमा लिएका छन् ।
‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस एक नेताले भने– ‘मैलेचाहिँ यो विषय सरकारले निर्णय गर्ने कुरा हो, उपयुक्त निर्णय गर्छ भनिदिएँ ।’
तर राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा ‘स्मरण’ मात्र गराएको शीतलनिवास स्रोतले बतायो । सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।