काठमाडौं – यसै मंसिर २२ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसर पारेर २ नम्बर प्रदेश सरकारले मंसिर २२ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो
सरकारको मन्त्रिपरिषद्को २०७८ बैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलवारदेखि बिहीवारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले बताएका छन् ।
विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै उपमहानगरपालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मंसिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले जानकारी दिए ।
गत शुक्रवारबाट सुरू भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवमा बुधवार वैवाहिक कार्यक्रम हुने भएको छ । सीताराम विवाह महोत्सवअन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगर दर्शन गरिएको थियो भने शनिवार फूलबारी लीला सम्पन्न भएको छ ।
आज आईतवार धनुषयज्ञ भएको छ । महोत्सवअन्तर्गत भोलि सोमवार तिलकोत्सव, मंगलवार मटको, बुधवार शुभविवाह रहेको छ भने बिहीवार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।