काठमाडौं – सर्वसाधारणको हकअधिकारका लागि लड्दालड्दै शासकहरूबाट मारिएका शहीदहरूको सम्झनामा आज शुक्रबार देशभर शहीद दिवस मनाइँदैछ ।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाले आज शुक्रबार शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रमबहादुर चन्दले नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहने जानकारी दिए ।
शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले आज शुक्रबार सुन्दरखालीबाट र्यालीसहित शहीद चन्दको घरमा पुगेर श्रद्धाञ्जलिसभा आयोजना गर्ने भएको छ ।
जहानियाँ राणा शासनको विरुद्ध लागेको भन्दै तत्कालीन शासकहरूको योजनामा दशरथ चन्दलाई १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
विक्रम संवत् १९९७ देखि २०६२र६३ को जनआन्दोलन हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौं वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएका छन् ।
नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरूमा श्रद्धा व्यक्त गर्न, साहस, संकल्प र आदर्शलाई सम्मान गर्न हरेक वर्ष शहीद दिवस मनाइने गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।