काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत स्थानीय स्तरका अधिवेशन भइरहेको बेला सिन्धुपाल्चोक जिल्लामा सबै १२ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक परिणामअनुसार सिन्धुपाल्चोकमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा गरेको देखिएको छ । देउवा पक्षले सिन्धुपाल्चोकका ९ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ‘क्लीन स्वीप’ नै गरिदिएको छ ।
जिल्लाको एउटा नगरपालिका र एउटा गाउँपालिकामा सहमति भएको छ भने पाँचपोखरी गाउँपालिकामा मात्रै पौडेल समूहले एकलौटी जीत हात पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा देउवा पक्षले सबैतिर कब्जा जमाएको छ । सो क्षेत्रका ७ वटा पालिकामा देउवा पक्षले एकलौटी रूपमा जितेको हो ।
२ नम्बर निर्वाचन क्षेत्रमा समेत देउवा पक्षले अधिकांश स्थानीय तहमा जितेको छ । पौडेल पक्षले स्पष्ट जितेको गाउँपालिका पाँचपोखरी मात्रै रहेको छ ।
सभापति देउवा पक्षलाई जिताउन सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले कमाण्ड सम्हालेका थिए, नेता बस्नेतको कमाण्ड सफल भएको छ ।
नेता बस्नेतले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई सहज रूपमा लिन सबैमा आग्रह समेत गरेका छन् । नेता बस्नेतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत एकमत भएर जुट्न अनुरोध गरेका छन् ।
अधिवेशनबाट भोटेकोशी गाउँपालिकाको सभापतिमा देवीबहादुर बुढाथोकी, त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ, बाह्रबिसे नगरपालिकामा शम्भु तिमिल्सिना, लिशंखुपाखर गाउँपालिकामा जेठा लामा ‘जोगलाल’, बलेफी गाउँपालिकामा रामकुमार लामा, सुनकोशी गाउँपालिकामा रुपकाजी लामा र जुगल गाउँपालिकामा सगुन श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी, मेलम्ची नगरपालिकाको सभापतिमा बसन्त गुरुङ, चौतारा सँगाचोकगढीमा इन्द्रलोचन धिताल, हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी, ईन्द्रावती गाउँपालिकामा जीवन थापा मगर, पाँचपोखरी गाउँपालिकामा प्रेम तामाङ विजयी भएका छन् ।
पाँचपोखरी गाउँपालिकाका सभापति तामाङ पौडेल पक्षका हुन् । ईन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच सहमतिमा सभापति र पदाधिकारीहरु चयन भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।